शनिबार, पुष ५, २०८२

सुडानमा अत्याचार र अराजकता ब्याप्त

नेपालखोज २०८० साउन २० गते ८:०८

काठमाडाैं । अफ्रिकी देश सुडान अत्याचार र अराजकताको आगोमा जलिरहेको मानव अधिकारबादिहरुले बताएका छन् । उनीहरुले भनेका छन् – सुडान घृणाको आगोमा जलिरहेको छ । जनताको मानवअधिकार खुलेआम हनन भैरहेको छ । आम जनतामाथि अत्याचार र अराजकताको हरेक हद नाघिँदै छ ।

यस्तो अवस्थामा सुडानी नागरिकको जीवन नरक बनेको छ । यसक्रममा एक प्रमुख मानवअधिकार समूहले अमेरिका र संयुक्त राष्ट्र संघलाई सुडानको डार्फरमा भएका अत्याचारका लागि जिम्मेवार व्यक्तिहरूमाथि थप प्रतिबन्ध लगाउन आग्रह गरेको छ। अप्रिलमा अफ्रिकी देश सुडानमा अराजकता सुरु भएको थियो जब अब्देल फताह बुरहानको नेतृत्वमा रहेको सेना र मोहम्मद हमदान डगालोको नेतृत्वमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सहरू बीचको तनाव राजधानी खार्तुममा आमनेसामनेको लडाईमा परिणत भयो ।

यता संयुक्त राष्ट्रसंघका एक अधिकारीले डार्फरको द्वन्द्व जातीय हिंसामा परिणत भएको बताएका छन् । न्यूयोर्कस्थित मानव अधिकार समूह ह्युमन राइट्स वाच (एचआरडब्लु)ले एक विज्ञप्तिमा भनेको छ – संयुक्त राष्ट्र सुरक्षा परिषदले नागरिकहरूको सुरक्षा गर्न र अत्याचारका लागि जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउने कुरा सुनिश्चित गर्न लक्षित प्रतिबन्धहरू लगाउनुपर्छ । संगठनका अनुसार पश्चिम डार्फरमा मात्र कम्तीमा सातवटा गाउँ र शहर लगभग पूर्ण रूपमा जलेका वा नष्ट भएका छन । एपी

प्रतिक्रिया