बाटो बन्दा डुबे तेलबहादुर, ७३ दिनदेखि धर्नामा

नेपालखोज २०८० साउन २० गते १२:३६

गोरखा जिल्ला बारपाक गाउँपालिका वडा नं २ सुलिकोटका तेलबहादुर घले विगत ७३ दिनदेखि धर्नामा छन्। विगत ७३ दिनदेखि एक्लै न्यायका लागि माइतिघर अगाडि सडकमा संघर्ष गर्दै आएका छन् । तर झन्डै तीन महिना पुग्न लाग्दा पनि सम्बन्धित निकाय वा त्यसका प्रतिनिधि उनको कुरा सुन्न नआउँदा  चिन्तित छन्।

घलेले गोरखाको दोभान गाउँमा होटल सञ्चालन गर्दै आएका थिए । गोर्खा जिल्लाको आरुघाट–लार्के भन्ज्याङ सडक जोड्ने काम नेपाली सेनाले ठेक्का लिएर मिति २०७४ वैशाखदेखि काम थालेको थियो। तर बाटो खन्ने क्रममा आर्मीले होटल तहसनहस बनायो।

‘एक सिजन होटल सञ्चालन गर्न दिनुस् न भनेर आर्मीका मेजर निशान्त पण्डितलाई बिन्ती गरेँ,’ घले भन्छन्, ‘बिन्ती गर्दा मानेनन्। उल्टै आर्मीको नियममा एक दिन पनि काम रोक्न मिल्दैन भने।’ तर तिनै मेजर पण्डितलाई आठ करोड भ्रष्टाचारको आरोपमा काठमाडौंमा कारबाही भएर थुनिएछ। 

होटेल तहसनहस भएपछि दुई वर्षसम्म व्यवसाय सञ्चालन गर्न सकेन्। जसले गर्दा जीवनयापनमा कठिनाइ भयो। ‘जिल्ला प्रशासनमा न्यायका लागि भनेर निवेदन दिएँ, तर लिन मानेनन्,’ घलेको गुनासो छ, ‘पत्रकारलाई सुनाउँदा उल्टै आर्मीको बदनाम गरेको भनेर मलाई धम्काइयो। जिल्लामा सेनाका तालुकवालाले धम्काएपछि न्याय माग्न अदालत जान्छु भन्दा पनि जानु पर्दैन, राम्रो क्षतिपूर्ति मिलाइदिन्छु भनेर  एक वर्ष झुलाइदिने काम भयो।’

सयम बित्दै गयो। तीन वर्षपछि घलेलाई  १३ लाख ८२ हजार क्षतिपूर्ति लिन आउनू भनी फोन गरे। ‘त्यति थोरै लिन्नँ, बरु अदालत जान्छु भन्दा लिने भए लग्, नत्र त्यो पनि पाउँदैनौं भनियो,’ घले बताउछन्।

घले अहिले आफू ऋणमा डुबेको बताउछन्। उनले होटल बनाउन ३६ लाख ऋण र बाँकी आफूसँग पैसा लगाएर ४५ लाखमा होटल सुरुवात गरेका थिए । ३६ लाख ऋणको १८ प्रतिशतले ३ वर्षको ब्याज नै १९ लाख ४४ हजार र तीन वर्षको जग्गा भाडा तीन लाख गरी २२ लाख ऋणमा डुबेको घले बताउछन्।

‘एक वर्ष होटल चलाउँदा ११ लाख रुपैयाँ आम्दानी भएको थियो। होटल बनाउँदा र एकपटक होटल मर्मत गर्दा लागेको खर्च गरी जम्मा ४५ लाख ५८ हजार को ऋणी भएको छ,’ उनि भन्छन्, ‘मलाई सरकारले सुकुम्बासी बनायो। १३ लाख ८२ हजार क्षतिपूर्ति पाएँ। तर त्यतिले पुग्दैन। अब सरकारले २० लाख ७५ हजार क्षतिपूर्ति नदिएसम्म धर्ना बसिरहन्छु।’

यसबारे गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईलाई सम्पर्क गर्दा उनले तेलबहादुर घलेका बारेमा निवेदन आए पनि कुनै कामकाज अघि नबढेको जानकारी दिए । यसबारे थप पुष्टि गर्न जिल्ला प्रशासन कार्यालय गोर्खामा सम्पर्क गर्न भने ।

सोहीअनुसार जिल्ला प्रशासन कार्यालय गोर्खाका सूचना अधिकारी नारायणप्रसाद सुवेदीलाई सम्पर्क गर्दा यसबारे आफूलाई केही थाहा नभएको बताए । उनले पनि थप जानकारीका लागि विपद् भोकल पर्सन समीर आचार्यलाई सम्पर्क गर्न भने। सोहीअनुसार आचार्यलाई सम्पर्क गर्दा उनले पनि पूर्ण रूपले जानकारी नभएकाले पुनः जिल्ला प्रशासन कार्यालय गोरखाका सहायक प्रमुख पुष्कर रानालाई सम्पर्क गर्न अनुरोध गरे ।

‘तेलबहादुर घलेको होटेलको अवस्था र घटनाबारे बुझेर कस्तो अवस्थामा पहिला थियो र हाल कस्तो अवस्थामा छ यकिन गर्छौ,’ उनले भने, ‘त्यसपछि मात्रै सो समयमा उपस्थित प्रहरीलाई सम्पर्क गरेर यसबारे थप कदम चाल्नेछौँ।’ -INS

प्रतिक्रिया