नेदरल्यान्ड्स विश्वकपको क्वाटरफाइनलमा

सिड्नी – उपाधि दावेदार नेदरल्यान्ड्स फिफा महिला विश्वकप फुटबल २०२३ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको प्रि–क्वाटरफाइनलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै डच टोलीले अन्तिम आठको यात्रा तय गरेको हो ।
नेदरल्यान्ड्सको जितमा जिल रुड र लिनेथ विरेन्सटाइनले गोल गरिन् । पहिलो हाफमै दुई महत्वपुर्ण खेलाडी गुमाएपछि दक्षिण अफ्रिका समस्यामा पर्दा नतिजा नै सुम्पन पुग्यो ।
अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी फुटबल स्टेडियममा आइतबार भएको खेलको नवौं मिनेटमा जिल रुडको गोलबाट डच टोलीले सुरुवाती अग्रता लिन सफल भयो । उनले हेडरमार्फत सुन्दर गोल गर्न सफल भइन् ।
एक गोलले पछि परेको दक्षिण अफ्रिकाका दुई महत्वपूर्ण खेलाडी १२ मिनेटको अन्तरमा चोट बोक्दै बाहिरिएपछि टोली थप समस्यामा पर्यो । ३०औं मिनेटमा जेर्मेन सेपोसेन्वी चोटका कारण बाहिरिन पुगिन् । ४२औं मिनेटमा बम्वानानी एम्वाने पनि चोटका कारण बाहिरिदा टोली थप समस्यामा पुग्यो ।
५४औं मिनेटमा लेकी मार्टिनले गोल गरेपनि भिएआरबाट अफसाइड ठहरिदा गोलले मान्यता नपाउँदा नेदरल्यान्ड्स अग्रता दोब्बर पार्नबाट चुक्यो ।
६८औं मिनेटमा लिनेथ विरेन्सटाइनले लेकीको पासमा गोल गर्दै नेदरल्यान्ड्सको सहज जित पक्का गरिन् । विश्वकप फुटबलको इतिहासमा पहिलोपल्ट प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको दक्षिण अफ्रिका त्यसभन्दा अघि बढ्न सकेन ।
अब नेदरल्यान्ड्सले क्वाटरफाइनलमा स्पेनसँग खेल्नेछ । आज नै उपाधि दावेदार दुई टोली स्वीडेन र अमेरिकाबीच केहीवेरमा खेल हुनेछ । – Hamrokhelkud

प्रतिक्रिया