माओवादीले तीनमहिने विशेष अभियान चलाउने, सात प्रदेशका सात वडामा अध्यक्ष आफैँ सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक घर र परिवारमा पुगेर पार्टीको नीति योजना, कार्यक्रम र सरकारले पछिल्ला दिनमा गरिरहेको काम कारबाहीका बारेमा जानकारी गराउन निर्देशन दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले देशभित्रका प्रत्येक घर परिवारलाई भेट्न र कुनै पनि घर नछाड्न पार्टीका केन्द्रीय सदस्यलाई निर्देशन दिए । माओवादी केन्द्रले विशेष अभियानका रुपमा तीनमहिने अभियान सञ्चालन गर्ने भएको छ । सो अभियानमा सात प्रदेशका सात वडावडामा आफैँ खटिने अध्यक्ष प्रचण्डको भनाइ थियो । सो अभियानमा पार्टीका सबै नेता तथा कार्यकर्ता कार्यक्षेत्रमा खटिनुपर्ने उनको भनाइ छ ।
आफू पनि सात वडा प्रदेशको विभिन्न सात वडामा पुगेर जनतासँग साक्षात्कार गर्ने उल्लेख गर्दै उनले अब सबै नेता तथा कार्यकर्ता जनतासँग एकाकार हुनैपर्ने र जोडिनैपर्ने बताए । उनले अहिले पनि पार्टी र नेतृत्व घेराबन्दीमा रहेको उल्लेख गरे । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले सरकारका तर्फबाट भएको काम कारबाहीका बारेमा समेत जनतालाई जानकारी दिन आग्रह गरे ।
अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान योजनाबद्ध तरिकाले सञ्चालन गरिएको उल्लेख गरे । उनले अभियानलाई साथ दिन निर्देशनसमेत दिएका छन् । सुशासन एवम् समृद्धिको यात्रामा देश अगाडि बढ्ने स्पष्ट पार्दै अध्यक्ष दाहालले भ्रष्टाचारमा दोषी देखिएका कसैलाई पनि नछाड्ने बताए । उनले भने, ‘माओवादीले गरेन भने त्यसको नेतृत्व अरू कसैले गर्न सक्दैन भनेर योजनाबद्ध तरिकाले अघि बढेका हौँ । हामी यसलाई त्यतिकै छाड्दैनौँ, यो अभियानमा सबै कमरेडहरूले साथ दिनुहोला ।’
उनले पार्टीको मुख्य नेतृृत्व वरिपरि गोलबन्द भएर विधि पद्धतिमा रहेर जनतासँग एकाकार भएर परिवर्तनको स्वामित्व लिने गरी अगाडि बढ्नुपर्ने बताए ।
प्रधानमन्त्री प्रचण्डले विचार र राजनीतिमा पार्टी एकमत भएको र भावनात्मक रुपमा एकै ठाउँमा आएको उल्लेख गरे । उनले जनतासँग एकाकार भएको खण्डमा माओवादीले पुनः देशको पूर्ण नेतृत्व गर्ने बताए । उनले विगतमा पार्टीमा केही अन्यौलमा परेजस्तो भए पनि केन्द्रीय समितिको बैठकपछि ती सबै हटेको स्पष्ट पारे ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको बैठक असाधारण रुपमा सम्पन्न भएको र विभिन्न २५ बुँदे समसामयिक प्रस्ताव पारित गरेको जानकारी दिए । समाजवादी क्रान्तिको अभियान सुरु भएको उल्लेख गर्दै उनले ‘जनतासँग माओवादी विशेष रुपान्तरणका लागि अभियान’ सञ्चालन गर्न लागिएको बताए ।
उनका अनुसार अभियानको आगामी भदौ १६ गते उद्घाटन हुन्छ । अभियानमा जनताको घरघरमा जाने र जनताको गुनासो सुन्ने र पार्टीमा केन्द्रित गरिने प्रवक्ता महराले जानकारी दिए । यही साउन १७ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेका थिए । सो प्रस्तावमाथि नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।
प्रतिक्रिया