मंगलबार, वैशाख १६, २०८२

यसकारण घुम्नुपर्छ ल्वाङ गाउँ

नेपालखोज २०८० साउन २२ गते ६:४६

के तपाईँ घुमफिरका लागि पोखरा आउँदै हुनुहुन्छ ? त्यसो हो भने ल्वाङ गाउँ घुम्न नछुटाउनुहोला । लाग्छ ल्वाङ गाउँ घुम्न कुनै याम पर्खनुपर्दैन । हरेक ऋतुकालमा यस गाउँ भिन्न विशेषतामा खुल्छ ।

प्रकृति र संस्कृतिको अनुपम थलो हो, ल्वाङ गाउँ । पहिलोपल्ट यो गाउँमा पाइला राख्दा जो–कोहीको मन फुरुङ्ग हुन्छ । सहरको कोलाहलबाट उम्केर छिनभरमै पुग्न सकिन्छ, ल्वाङ गाउँ ।

ग्रामीण पर्यटनको केन्द्र ल्वाङ गाउँ आफैँमा चित्ताकर्षक छ । पोखरासँग जोडिएको माछापुच्छे गाउँपालिका–८ स्थित यो गाउँ सहरछेउको लोकप्रिय गन्तव्य हो । गुजुमुज्ज गुरुङ बस्ती । सेतो र गेरु रङ पोतिएका एकनासे घर । ढुङ्गाकै छाना, आँगन र बाटो । वास्तुकला झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा । ल्वाङ गाउँका आकर्षण हुन् यी । गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले पनि ल्वाङ गाउँ पुग्ने पर्यटकलाई लोभ्याउँछ ।

व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव भुल्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् । विसं २०६७ मा घरबास ९होमस्टे० सञ्चालनमा आएपछि सो गाउँले पर्यटनमा फड्को मारेको हो । सुरुमा गाउँका अगुवा महिला मिलेर सात घरबाट सुरु गरेको घरबास अहिले २६ घरमा विस्तारित छ ।

एकै रातमा चार सयसम्म पाहुना राख्ने क्षमता घरबासमा छ । पर्यटकीय याममा त दिनमै छ सयसम्म पर्यटक बसेको अनुभव घरबास सञ्चालकसँग छ । प्रकृतिमा रमाउन र घरबासको आनन्द लिन पर्यटकले ल्वाङ गाउँलाई रोज्ने गरेको ल्वाङ सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष मञ्जु गुरुङले बताए ।

‘यहाँ मुख्य गरी आउने भनेको आन्तरिक पर्यटक नै हो, कोभिडपछि विदेशी पाहुनाको सङ्ख्या केही घटेको छ’, उनले भने, ‘पोखराबाट नजिकको दूरीमा भएकाले पनि आउजाउ सहज छ, घुमफिरका लागि जुनसुकै मौसममा ल्वाङ गाउँ उपयुक्त छ ।’ हिउँदमा दन्तेलहरझैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले ल्वाङ गाउँको सौन्दर्य उसैगरी खुल्छ । समुद्री सतहदेखि चौध सय मिटरको उचाइमा अवस्थित यो गाउँबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाली चुचुरोमा देखिने सूर्योदयको दृश्य लोभलाग्दो हुन्छ । अध्यक्ष गुरुङले गुरुङ संस्कृतिको अध्ययन, अनुसन्धानका लागि देशी–विदेशी अध्यताहरूसमेत ल्वाङ गाउँ आउने गरेको जानकारी दिए ।

‘बाहिरबाट आउने पाहुनालाई गुरुङ संस्कृति र संस्कार देखाउँछौँ, हाम्रो रैथाने खानाको स्वाद चखाउँछौँ’, उनले भने, ‘कसैले इच्छा गर्नुभयो भने करेसाबारीमा लगेर खेती गर्ने तरिका सिकाउने, भान्छाको परिकार बनाउने विधि पनि सिकाउने गर्छौँ ।’ निगालोबाट बन्ने डोको, सेखुजस्ता घरेलु उत्पादनका सामग्री पनि पर्यटकलाई चिनाउने गरिएको उनको भनाइ छ । घरबासको भान्छामा गाउँमै उत्पादन हुने अन्न र तरकारीबालीको प्रयोग गर्ने गरिएको घरबास सञ्चालक माया गुरुङले बताए । ‘वर्षात्का बेला टुसा, निउरोको परिकार बन्छ, गुन्द्रक त सँधै हुन्छ’, उनले भने, ‘यहीँको मकै, कोदो, जौँबाट बन्ने परिकार पाहुनालाई खुवाउँछौँ ।’ मासुजन्य परिकारका लागि स्थानीय कुखुराको बढी प्रयोग हुन्छ । पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेको घरबास सञ्चालक बताउँछन् ।

‘ल्वाङ गाउँ आएका पर्यटकले एकदेखि दुई रातसम्म यहाँ बिताउँछन्’, घरबास सञ्चालक गुरुङले भने, ‘अन्नपूर्ण आधार शिविर र मर्दी ट्रेकमा जानेहरू पनि ल्वाङ गाउँमा विश्राम गरेर बाटो लाग्छन् ।’ सप्ताहन्त मनाउन ल्वाङ शुक्रबार आयो कि ल्वाङमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन ल्वाङ पुग्छन् । बिदाका दिनमा युवायुवतीको पनि उस्तै भीड देखिन्छ । ‘कुनै शुक्रबार त ठाउँ नपुगेर पाहुनालाई जेनतेन राख्नुपर्छ’, घरबास सञ्चालक गुरुङले भने, ‘बिदामा फुर्सद निकालेर कर्मचारी, व्यवसायीलगायत स्थानीय पाहुना बढी आउनुहुन्छ ।’

ल्वाङ गाउँ गएका बेला नजिकका पर्यटकीयस्थल ‘पोखरा क्यानोनिङ’, घलेल गाउँलगायत पुग्न सकिने वडाध्यक्ष गुरुङले बताए । वडा नं ८ र ९ मा पर्ने घलेल पनि अर्को मनोरम गाउँ हो । गुरुङ बाहुल्य उक्त गाउँले पनि पर्यटकलाई लोभ्याउने गरेको छ । गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर तथा संस्कृतिको आनन्द बटुल्न पर्यटकले ल्वाङ र घलेललाई राज्ने गरेका हुन् ।

पर्यटकीय सहर पोखरादेखि २० किमी मोटरयात्रामा ल्वाङ गाउँ पुग्न सकिन्छ । पदयात्रा गरे झन्डै चार घन्टा लाग्छ । मर्दी खोलाको किनारैकिनार भिर र वनपाखा चहार्दै पदयात्रा गर्न सकिन्छ । पोखरा महानगरपापलिका–२५ हेम्जाबाट खानेपानी, भेँडाबारी, खोलामुख हुँदै ल्वाङ गाउँ पुगिन्छ ।

प्रतिक्रिया