रुपन्देहीको टाइगर प्यालेस रिसोर्ट घाटामा बिक्री, अख्तियारद्वारा छानबिन सुरु

रुपन्देही क्षेत्रकै ठूलो लगानीमा तिलाेत्तमा १५ मा सञ्चालित पाँचतारे टाइगर प्यालेस रिसोर्ट बिक्री भएको छ। अस्ट्रेलियाको सिल्भर हेरिटेज गु्रपले करिब ५ अर्ब लगानीमा २०७४ सालमा यो रिसोर्ट सञ्चालनमा ल्याएको थियो।
लामो समयदेखि अमेरिकामा होटेल व्यवसाय गरिरहेका बुद्धिसागर सुवेदी अध्यक्ष रहेको हिमालयन टाइगर इन्भेस्टमेन्ट एलएलसी कम्पनीले टाइगर प्यालेस खरिद गरेको हो। तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले ठूलो घाटा खाएर रिसोर्ट बिक्री गरेको हो।
हिमालयन टाइगर कम्पनीले टाइगर प्यालेसको लगानीकर्ता सिल्भर हेरिटेज इन्भेस्टमेन्ट कम्पनी खरिद गरेको हो। हिमालयन टाइगर कम्पनी अमेरिकाको डेलावेयरमा दर्ता छ।
टाइगर प्यालेसमा करिब तीन करोड ६० लाख अमेरिकी डलर विदेशी लगानी ल्याएको सिल्भर हेरिटेजले लामो समयदेखि रिसोर्ट बिक्री गर्ने प्रयास गरेको थियो।
सुवेदीले अमेरिकामा हायात, होलिडे इन, ह्याम्पटन, विज्डमलगायत ठूला अन्तर्राष्ट्रिय चेन ब्रान्डका होटेल सञ्चालन गरिरहेका छन्। उनीलगायतको समूहले अमेरिकाको सिकागो, वासिंगटन डिसी, नर्थ क्यारोलिना, लुजियानालगायत ठाउँमा होटेल चलाइरहेको छ।
नेपालमा भने सुवेदीले अर्कै समूहसँग मिलेर टाइगर प्यालेस खरिद गरेका हुन्। हिमालयन टाइगरमा सुवेदी, गैरआवासीय नेपाली संघका वर्तमान अध्यक्ष कुल आचार्य, क्यानडा च्याप्टरका निवर्तमान अध्यक्ष दीपक गौतम, डा. केशव पौडेललगायतको लगानी छ।

नेपालमा अदालतको आदेशलगायत केही जटिलताका कारण आफूहरुले हङकङमा खरिदबिक्री गरे पनि यहाँ तिर्नुपर्ने सबै दायित्व तिर्ने प्रतिबद्धता सुवेदीले व्यक्त गरे ।
यसअघि मणिग्रामका व्यवसायी बालकृष्ण भुसाललगायतको समूहले पनि सो होटेल खरिद गर्ने सहमति भएको थियो। तर, अर्कै मुद्दामा अदालतले दिएको आदेशका कारण सो खरिदबिक्री सम्पन्न हुन नसकेपछि उनीहरु पछि हटेका थिए ।
रिसोर्टले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको फैसला जिल्ला अदालत रुपन्देहीले गरेको थियो। अदालतको फैसलाको पालना गरेर रिसोर्ट सञ्चालन गर्ने सुवेदीले भनाइ छ।
पाँचतारे टाइगर प्यालेस रिसोर्ट हङकङमा बिक्री भएको विषयमा सरकार र अख्तियारले छानबिन थालेको छ। देश बाहिर खरिद गरेको विषय बाहिर आएपछि सरकार र अख्तियारले यसको छानबिन थालेका हो। – INS

प्रतिक्रिया