वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताएका छन् ।
मन्त्रालयद्वारा आज आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँग छलफल’ कार्यक्रममा उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताएका हुन् ।
‘वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन । यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ’, उनले भने । सचिव भण्डारीले सूचनाको अभावकै कारणले वैदेशिक रोजगारीमा जाने मानिस ठगिएकाले ठगी नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।
‘जसरी विभिन्न सञ्चारमाध्यमबाट विज्ञापन गरी वैदेशिक रोजगारीबारे प्रचारप्रसार गरिएको छ । सोहीअनुरूप ठगी नियन्त्रण सचेतनाका विषयलाई आमजनतामा पुर्याउन आवश्यक छ’, उनले भने ।
कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया