शनिबार, पुष ५, २०८२

वनमा लागेको आगोले ऐतिहासिक सहर जलेर नष्ट

नेपालखोज २०८० साउन २६ गते ५:३७

अमेरिका । जलवायु परिवर्तनका कारण विश्वभरको जंगलमा भैरहेको आगलागीबीच एउटा अर्को घटना अमेरिकाको हवाई टापुबाट आएको छ । उक्त आगलागीमा परेर अहिलेसम्म ३६ जनाको ज्यान गइसकेको छ । अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन् । लहानियामा भएको यो आगलागीको वास्तविक क्षति यकिन गर्न अझै कठिन रहेको अधिकारीहरुले बताएका छन् ।

डोरा आँधीले हवाईको जंगलमा लागेको यो आगोलाई अझ फैलाउने र भडकाउने काम गरेको छ । यसले हवाईको माउ टापुको लाहनिया सहरमा विनाशकारी प्रभाव पारेको छ । अहिले पर्यटकलाई उक्त क्षेत्रबाट टाढा रहन भनिएको छ ।

आगोबाट बच्न मानिसहरू समुद्रमा हाम फाले

डोरा आँधीको तीव्र हावाका कारण यहाँको जंगलमा लागेको आगो दक्षिणतिर धेरै टाढासम्म फैलिएको थियो । माउ टापुका मानिसहरू यो दुर्घटनाका लागि तयार थिएनन् । आगलागीका कारण सडकमा पार्किङ गरिएका गाडीहरु जलेर नष्ट भएका छन् भने कैयौं ऐतिहासिक भवनहरु भग्नावशेषमा परिणत भएका छन् । आगलागीले रातभरि मै उक्त क्षेत्रलाई ध्वस्त पारेको थियो। धेरै वयस्क तथा केटाकेटीहरू आफूलाई बचाउन समुद्रमा हाम फालिरहेका देखिए । कोस्ट गार्डहरूका अनुसार उनीहरूले १४ जनालाई पानीमा डुब्नबाट बचाएका छन् । यसमा आगो र धुवाँबाट बच्न समुद्रमा हाम फाल्ने दुई बालबालिका पनि थिए ।

कारण स्पष्ट हुन सकेको छैन

१७०० देखि अस्तित्वमा रहेको लहानिया सहर पर्यटकहरुले रुचाएको स्पट हो । अहिले त्यहाँ दमकलका कर्मचारीहरु सहरमा ठाउँ–ठाउँमा लागेको आगो निभाउन ब्यस्त छन् । माउई काउन्टीका मेयर रिचर्ड बिसेन जुनियरले एक पत्रकार सम्मेलनमा बताए अनुसार यो आगलागीको कारण पत्ता लगाउन सकिएको छैन । यद्यपि सुख्खा मौसम, कम आर्द्रता र तिब्र हावाका कारण आगो फैलिएको अधिकारीहरुले बताएका छन् ।

बारम्बार घट्ने आगलागीका घटना

बारम्बार चरम मौसमी घटनाहरूको श्रृंखलामा यो जंगली आगलागी पछिल्लो घटना हो । जलवायु परिवर्तनका कारण यस्ता घटना अझ बढ्न सक्ने विज्ञहरू बताउँछन् । पछिल्लो समाचार अनुसार माउमा हावाको गति कमजोर भएपछि केही विमानको उडान सुरु भएको छ । हवाईजहाजबाट शहरको अवस्था देख्न सकिन्छ । यस्तै एउटा भिडियोमा उक्त क्षेत्रको मुख्य सडकमा दर्जनौं घर र पसल जलेको देख्न सकिन्छ । भने त्यहाँ आगलागीको बिनास मथ्थर हुँदै गएको छ ।
स्रोत : एपी

प्रतिक्रिया