निर्माणाधीन दुई सामुदायिक भवन अलपत्र

नेपालखोज २०८० साउन २७ गते ११:१८

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–१ मा दुई सामुदायिक भवन अलपत्र परेका छन् । भर्जुलाको गोदावारी आमा समूह र थाइबाङको न्यू लालीगुराँस युवा क्लबको एकीकृत सामुदायिक भवन अलपत्र परेका हुन् । उक्त भवन निर्माणका लागि स्थानीय पलिकाबाट बजेट विनियोजन हुन रोकिएपछि दुवै भवन अलपत्र अवस्थामा छन् ।

वि.सं २०७२ देखि भवन निर्माण सुरु भएकामा बजेट अभावका कारण पूर्णता पाउन नसकेको गोदावारी आमा समूहका अध्यक्ष यामकुमारी पुनले बताइन् । तत्कालीन समयमा सरकारले भवन निर्माणका लागि छ लाख रकम विनियोजन गरेपछि काम थालिएकामा बजेटले निरन्तरता नपाँदा काम अलपत्र बनेको उनको भनाइ थियो ।

अध्यक्ष पुनका अनुसार वि.सं २०७५ मा समूहले चन्दा सहयोग तथा ऋण बापत १२ लाख जुटाएको थियो । ‘निर्माणाधीन भवनलाई पूर्णता दिन मङ्गला गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख र आव २०७६/७७ सालमा तीन लाख बजेट विनियोज गरेको थियो’, उनले भनिन्, ‘विनियोजित र सङ्कलन भएको गरी २० लाखले भवनको ढलान गर्नुका साथै दोस्रो तलाको पर्खाल उठाउने काम भएको छ ।’

आमा समूहका तत्कालीन कोषाध्यक्ष केसकुमारी पाइजाले एक रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराएपछि भवन निर्माण थालिएको थियो । ‘गाउँको सामुदायिक भवनका रुपमा बनाउन सुरु गरेका थियौँ । सरकारी तवरबाट बनाउन सुरु गरिएको उक्त भवन उपेक्षामा परेपछि अलपत्र परको छ’, अध्यक्ष पुनले भनिन्, ‘गाउँपालिकादेखि प्रदेश सरकारसम्मलाई गुहार्दै आएका छौँ ।’

भवनको दोस्रो तला ढलान हुन सकेको छैन भने झ्याल र ढोका पानीले कुहिन थालेका छन् । भवनभित्र पानी पस्न थालेपछि जोगाउनका लागि त्रिपाल टाँगिएको छ । आमा समूहले गाउँमा विभिन्न कार्यक्रम गर्दा सङ्कलन भएको रकम भवन निर्माणमै लगानी गर्दा पनि रकम अभाव देखिएको अध्यक्ष पुनले बताए ।

त्यस्तै, यसै वडाको थाइबाङमा सुरु गरिएको ‘एक बस्ती एक एकीकृत भवन र खेल मैदान’ अन्तर्गत निर्माणाधीन एकीकृत सामुदायिक भवन र खेल मैदान योजना अलपत्र बनेको छ । पाँच वर्षअघि गाउँपालिकाले निर्माण सुरु गरेको उक्त भवनको पहिलो तला ढलान भएको छ भने बाँकी काम रोकिएको छ ।

एउटै ठाउँमा एकीकृत भवन र खेल मैदान बनाउन गाउँपालिकाले तीन वर्षसम्म योजना बनाइ बजेट विनियोजन गरे पनि नियमितरुपमा बजेट नआउँदा भवन अलपत्र परेको क्लबका सचिव बलिभद्र गौतमले जानकारी दिए ।

गाउँपालिकाले व्यक्तिको स्वामित्वमा रहेको जग्गा पास भएर नआएपछि उक्त योजनामा बजेट विनियोजन गर्न छाडेको जनाएको छ । क्लबका पूर्वअध्यक्ष मोहनकुमार पाइजाले खेल मैदान र भवनका लागि आवश्यक पर्ने जग्गा निःशुल्क प्रदान गर्ने घोषणा गरेका थिए । उनी अहिले मुलुक बाहिर हुन् ।

जग्गाको वर्गीकरण गरेर कित्ताकाट गर्ने नियम लागू भएपछि गाउँपालिकाले जग्गा कित्ताकाट खुलाउन नसक्दा पाइजाको नाममा रहेको जग्गा क्लबको स्वामित्वमा आउन नसकेको क्लबले जनाएको छ । अहिले काम अलपत्र बन्नुका साथै योजना परिसरमा पहिरोको जोखिम समेत बढे्को अध्यक्ष गौतमले बताए । उनका अनुसार भवनको करिब ७० र खेल मैदानको ४० प्रतिशत मात्रै काम पूरा भएको छ ।

व्यक्तिगत स्वामित्वमा रहेका जग्गामा सार्वजनिक पूर्वाधार बनाउँदा गरिने लगानीमाथि अख्तियारलगायतका निकायबाट ताकेता हुन थालेपछि बजेट विनियोजन नगरेको मङ्गला गाउँपालिका–१ का वडाध्यक्ष एकजित रोकाले बताए । गाउँकार्यपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रोकाले जग्गा दाताले जग्गा पास दिन खोजे पनि कित्ताकाट नखोल्दा समस्या भएको बताए ।

‘जग्गादाता युरोप हुन्, उनी गृहगाउँ आएको समयमा जग्गा पास दिन खोजिरहेका थिए । गाउँपालिकाले जग्गाको वर्गीकरणका लागि आवश्यक बजेट विनियोजन गरेर आवश्यक प्रक्रिया अघि बढाउन लागेको छ’, उनले भने, ‘अब छिट्टै क्लब र आमा समूहको स्वामित्वमा जग्गा आउँछ । त्यसपछि अलपत्र काम अघि बढाउँछौँ ।’

प्रतिक्रिया