नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताए । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८४औँ जन्मजयन्तीका अवसरमा सुशील कोइराला मेमोरियल फाउन्डेसनले आज यहाँ आयोजना गरेको ‘सुशासन र मुलुकको वर्तमान अवस्था’ विषयक छलफलमा उहाँले नैतिकवान व्यक्ति कार्यकारी पदमा पुगे मुलुकमा सुशासन निर्माण हुने विश्वास व्यक्त गरे ।
‘नैतिक शिक्षा अहिले आवश्यक छ, जबसम्म मानिसमा विवेक र नैतिकता हुँदैन, तबसम्म समाजमा परिवर्तन हुन सक्दैन’, उनले भने, ‘पछिल्लो समय कानुनलाई तोडमोड गरेर निर्दोष व्यक्तिलाई दोषी बनाउन खोजिँदैछ ।’ पूर्वमुख्यसचिव लीलामणि पौड्यालले पछिल्लो समय सार्वजनिक प्रशासनमा जनताप्रतिको विश्वास खस्कँदै गएको बताए । पूर्वमुख्यसचिव पौड्यालले अहिले नेपाल सामाजिक, आर्थिक, राजनीतिक समस्याको भुमरीमा परेको बताए ।
मुलुकमा सुशासन निर्माण गर्नका लागि राजनीतिक उच्च तहको व्यक्ति सप्रिनुपर्ने उनको भनाइ थियो । सुशील कोइराला भ्रष्टाचारविरोधी र नेपाली राजनीतिका श्रद्धा गर्न लायक नेता भएको उहाँको भनाइ थियो । संविधानविद् डा भीमार्जुन आचार्यले पछिल्लो समय राजस्व अनुसन्धान विभाग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका निकायमाथिको काम कारबाहीको निष्पक्षतामा प्रश्न उठ्न थालेको बताए । उनले संविधानमा न्यायपालिकालाई स्वतन्त्ररूपमा राखिए पनि न्यायालयमा जाने पात्र राजनीतिक दलबाट जाँदा न्याय सम्पादनमा समेत प्रश्न उठाउन सकिने अवस्था आएको बताए । rss

प्रतिक्रिया