खुला दूध बिक्री गर्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिका (कामपा) ले खुला दूध प्लाष्टिकमा हालेर बिक्री वितरण गर्न रोक लगाउने भएको छ । कामपाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै उक्त कार्य तत्काल रोक्ने जनाएको हो ।
पछिल्लो समय बजारलाई थप व्यवस्थापन गर्नका लागि भन्दै नियमितरूपमा अनुगमन गर्ने तयारी गरिरहेको कामपाले विषेशगरी खुलारूपमा बेचिने खानेकुरा, पेयपदार्थ, तरकारी र फलफूलको बजारमा निगरानी बढाउने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिइन् ।
उनका अनुसार बर्खायाममा पानीसँगै फैलिने सङ्क्रामक रोग फैलिन नदिन बजारमा हुने व्यापारिक क्रियाकलापको अनुगमनका लागि तत्काल टोली परिचालित हुनेछ ।
‘माछामासु, पानी, दूधजस्ता दैनिक उपभोग्य खाद्य तथा पेय पदार्थबाट चाँडो सङ्क्रमण फैलिन्छ । यसको स्रोत मासु पसल, दूध डेरी, तरकारी तथा फलफूल पसल हुन्’, उनले भनिन्, ‘अनुगमन गर्नु भनेको सचेत गराउने र सुधारको मौका दिने पनि हो । मौका दिँदा पनि सुधार नगर्नेलाई कानूनी र प्रशासनिक कारबाहीको दायरामा ल्याउनुपर्छ ।’
त्यसैगरी पानीपुरी, चटपटेजस्ता खानेकुरामा उपभोक्ता झुम्मिने गरेको भन्दै यस्ता खानेकुराबाट हैजालगायत रोग छिट्टै सर्ने भएकाले निश्चित अवधिका लागि बेचबिखनमा रोक लगाउने तयारीसमेत कामपाको रहेको छ ।

प्रतिक्रिया