रास्वपाको १२१ सदस्यीय केन्द्रीय समितिमा ८२ पद रिक्त, किन गरिँदैन मनोनयन ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विधानमा केन्द्रीय समिति १२१ सदस्यीय हुने व्यवस्था छ। तर पार्टी स्थपाना भएको एक वर्ष बितिसक्दा रास्वपाले केन्द्रीय समितिमा विधानअनुसार एकतिहाइ सदस्य पनि बनाएको छैन। अहिले रास्वपाको केन्द्रीय समिति ३९ सदस्यीय छ।
रास्वपाका २१ जना प्रतिनिधिसभा सदस्यमध्ये ६ जना मात्र केन्द्रीय सदस्य छन्। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, सचेतक निषा डाँगी र स्वास्थ्य राज्यमन्त्री भइसकेकी तोसिमा कार्कीलाई समेत केन्द्रीय सदस्य बनाइएको छैन। संसद्मा प्रभावशाली देखिएका स्वर्णिम वाग्ले, मनीष झालगायत सांसद केन्द्रीय सदस्य छैनन्।
दुईपटक केन्द्रीय समिति विस्तार गर्दा पनि उनीहरू केन्द्रीय समितिमा परेनन्। केन्द्रीय समितिमा रहेका ६ सांसदमा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्यालका साथै सोबिता गौतम, गणेश पराजुली, सुमना श्रेष्ठ र बिन्दवासिनी कंसाकार छन्।
रवि लामिछानेले २०७९ असार १७ गते पार्टी स्थापनाको घोषणासँगै २१ सदस्यीय केन्द्रीय समिति सार्वजनिक गरेका थिए। त्यसपछि डा. अरनिको पाँडे, सुमना श्रेष्ठ र गणेश कार्कीलाई थप गरेर २४ सदस्यीय बनाइएको थियो। अन्तिमपटक २०७९ फागुन १ गते १६ जना थपेर केन्द्रीय समितिमा ४० जना पुर्याइएको थियो। तर महेश्वर घिमिरे राजीनामा दिएर अध्ययनका लागि अस्ट्रेलिया गएपछि केन्द्रीय समिति ३९ जनामा सीमित छ।
दोस्रोपटक केन्द्रीय समिति विस्तार हुँदा प्रतिनिधिसभामा उपसभामुख इन्दिरा राना मगरबाहेक १८ जना सांसद थिए। उनीहरू कसैलाई पनि रास्वपाले केन्द्रीय समितिमा पुर्याएन। बरू सभापति लामिछानेले आफ्ना विश्वासपात्रहरूलाई केन्द्रीय सदस्य बनाए। ग्यालेक्सी फोरके टेलिभिजनमा उनका सहकर्मी रहिसकेका दीपक बोहोरा, रमेश प्रसाईं, प्रतिभा रावल र क्रान्तिशिखा धिताल केन्द्रीय सदस्य मनोनीत भए।
बोहोरालाई लामिछानेले आफू गृहमन्त्री हुँदा प्रमुख स्वकीय सचिव बनाएका थिए। ग्यालेक्सी फोरकेमै कार्यक्रम प्रस्तोता र समाचार वाचक रहेका नवराज पाण्डे प्रेस संयोजक नियुक्त भएका थिए। पाण्डे भने केन्द्रीय सदस्य बनाइएका छैनन्।
के कारणले रोकिँदैछ केन्द्रीय समिति विस्तार ?
रास्वपाको सदस्यता लिन अहिले दैनिक ५०० देखि ७०० जनासम्मको आवेदन पर्ने गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटी बताउँछन्। उनका अनुसार अनलाइनबाट सदस्यता लिने प्रावधान रहेका कारण प्रक्रिया पूरा गर्न समय लागिरहेको छ। केही ठूला दलका नेताहरू पनि सम्पर्कमा आएकाले उनीहरूलाई पार्टीमा भित्र्याउन वार्ता भइरहेको उनले बताए। तर यति धेरै संख्यामा सदस्य जोडिएर पार्टी ठूलो हुँदैजाँदा पनि रास्वपाले केन्द्रीय समितिलाई पूर्णता दिने कार्यलाई प्राथमिकता दिएको छैन।
प्रतिक्रिया