चर्चरेस्थित तिनाउ खोलाको झोलुङ्गे पुल

सुनिल उलक २०८० साउन ३० गते ८:५५

पाल्पा जिल्लामा पुराना दुइ झोलुङ्गे पुलहरु भेटिन्छन् । एउटा चर्चरेमा रहेको अर्को दोभानमा रहेको । दोभानमा रहेको पुल एम हेण्डरसन एण्ड कम्पनीबाट बनेको थियो भने चर्चरेको झोलुङ्गे पुल भने हार्पर एण्ड कम्पनीले बनाएको थियो ।

तिनाउ खोलामा हार्पर एण्ड कम्पनीले बनाएको आधुनिक झोलुङ्गे पुलको लम्बाइ २३४ फुट तथा चौडाइ ४ फुट रहेको छ । यो पुल पनि वि.सं. १९६० को दशकमा नै बनेको थियो । यस पुलको डिजाइन पनि लुइस हार्परले नै गरेका थिए । भने निर्माणमा नेपालका इञ्जिनियर ब्रिगेडियर कर्णेल कुमार नरसिंह राणा नै खटिएका थिए । निर्माण कार्यमा नेपाली सेनाको जवानहरु नै लागेका थिए ।

हार्पर कम्पनीका अन्य झोलुङ्गे पुलहरु झै यो पुलको संरचना पनि उस्तै नै छ । बुर्जा सहितको चारवटा लामा पिलरहरुमा मोटो तार लट्किएको यो झोलुङ्गे पुल अझै पनि राम्रै अवस्थामा रहेको छ ।

हिड्ने भाग शुरुमा काठका फल्याक राखेर बनाइएको भए पनि पछि मर्मतको क्रममा स्टिलको राखिएको छ । इञ्जिनियरिङ भाषामा भन्नु पर्दा यस प्रकारको झोलुङ्गे पुललाई एन-टाइपको झोलुङ्गे पुल भनिन्छ । केही खर्चालु भए पनि बलिया यि पुलहरुको आयु अन्य पुल भन्दा बढी नै हुन्छ ।

यस पुलका निर्माता हार्पर एण्ड कम्पनीका लुइस हार्परका नाति डगलस हार्परसंग मेरो निरन्तर सम्पर्क रहिरहेको छ । बिभिन्न पुलहरुको जानकारी वहाँबाट पाएको छु । साथै पेशाले सर्जन रहेका डगलसले बाजेको योगदानको कदर गर्दै बाजेद्वारा डिजाइन गरेका विश्वभरका पुलहरुको झण्डै सय वर्ष पछि अध्ययन गरेर पुस्तक पनि लेखेका छन् ।

‘म इञ्जिनियर त होइन तर बाजेका पुलहरुको अध्ययनले मैले इञ्जिनियरिङ ज्ञान केही केही पाएको छु’ भन्दै वहाँले आफूबाट लिखित पुस्तक River Railway and Ravine Foot suspension bridge for Empire पनि पठाइदिएका छन् ।

२० बेलायती पाउण्ड मुल्य रहेको यस पुस्तकमा हार्पर एण्ड कम्पनीले विश्व भर बनाएका पुलहरुको विवरणको साथ नेपालमा बनेका पुलहरुको बिस्तृत विवरणहरु पनि लेखिएको छ । साथै हार्पर एण्ड कम्पनीले बनाएका सम्पूर्ण आधुनिक झोलुङ्गे पुलहरुको तस्विरहरु पनि राखिएको छ ।

प्रतिक्रिया