पृथ्वी राजमार्गमा यात्रा सकसपूर्ण

नेपालखोज २०८० साउन ३० गते १६:४२

डुम्रे । पृथ्वी राजमार्गको सडक विस्तारको काम भइरहेको छ । सडक चार लेन विस्तारका क्रममा राजमार्गको यात्रा गर्दा यात्रुले सास्ती भोग्नु परेको छ ।

पोखरा–मुग्लिन सडकअन्तर्गत करिब ९० किलोमिटरमध्ये पहिलो चरणमा आँबुखैरेनीदेखि पोखरासम्मको ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम भइरहेको छ ।

यस सडकको निर्माण कछुवा गतिमा भएको छ । सडक विस्तारले आँबुखैरेनीदेखि पोखरासम्मको बाटो छिचोल्न यात्रुलाई निकै सास्ती हुने गरेको छ । सडकका विभिन्न स्थानमा ढुङ्गा, माटो हुँदा यात्रा सकसपूर्ण हुने गरेको छ ।

सडक छेउबाट पैदल यात्रा गर्न सक्ने अवस्था नरहेको व्यास नगरपालिका–१२ का तारा पन्थले बताए । उनका अनुसार यस सडक छेउमा घर भएकाले केही कामका लागि निस्कँदा पनि सास्ती खेप्नुपर्ने अवस्था छ ।

बर्सातको समय भएकाले यस सडकमार्फत यात्रा गर्दा अधिकांश स्थानमा पहिरा खस्ने गरेको छ । लामो समयसम्म आधा बाटोमै रोकिनुपर्ने अवस्था छ ।

हाल पहिराका कारण केही स्थानमा एकतर्फी मात्रै सडक सञ्चालनमा छ । पूर्वी खण्डको २०७७ माघ १७ गते सम्झौता भएको थियो । उक्त खण्डको २०७८ वैशाख २ गतदेखि निर्माण सुरु भएको हो ।

प्रतिक्रिया