सडक निमार्ण ७० प्रतिशत

नेपालखोज २०८० भदौ ३ गते १६:५३

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको भरतपुर महानगरपालिकाको पुलचोक–गोन्द्राङ् छ लेन सडकखण्डको काम ७० प्रतिशत सम्पन्न भएको छ ।

निर्धारित समय सकिएर थप गरिएको छ महिना वितिसक्दा पनि हालसम्म ७० प्रतिशत मात्रै निर्माण सम्पन्न भएको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

विसं २०७७ असोज २७ गते सम्झौता भई निर्माण सुरु गरिएको उक्त सडक खण्डको हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको कार्यालयका सूचना अधिकारी इन्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए ।

उनका अनुसार विसं २०७९ माघसम्ममा काम सम्पन्न गर्ने गरी सम्झौता भएकामा उक्त समयमा निर्माण सम्पन्न नभएपछि आगामी मङ्सिरसम्मका लागि समय तोकिएको छ ।

हालसम्म गोन्द्राङ्देखि भरतपुर महानगरपालिकाको गेट अगाडिसम्म पहिलो चरणको काम भइरहेको छ भने लयायन्सचोकदेखि पुलचोकसम्मको काम सम्पन्न भइसकेको छ । सर्भिस लेन र फुटपाथको काम बाँकी रहेको साहले जानकारी दिए । खानेपानी व्यवस्थापन बोर्डले खानेपानीको काम गरिरहेकाले फुटपाथको काम गर्न केही समय लाग्ने उनको भनाइ थियो ।

छ किलोमिटरको उक्त सडक निर्माणका लागि एक अर्ब १२ करोडमा ठेक्का सम्झौता भएको भए पनि संशोधन भएर एक अर्ब २३ करोड पुगेको छ । सरकारले ठेकेदार कम्पनीलाई समयमा काम सक्न ताकेता दिँदै आए पनि आवश्यक बजेट व्यवस्थापन हुन नसक्दा समयमा काम सम्पन्न गर्न समस्या भइरहेको इन्जिनियर साहले बताए ।

भरतपुरको मुख्य सहरी क्षेत्रभित्र पर्ने उक्त सडक खण्ड निर्माण ढिलो हुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् ।

प्रतिक्रिया