आइतबार, जेठ ६, २०८१

प्रिगोजिनको मृत्यबारे प्रशासनमाथि लागेका आरोप ‘पूर्णरूपमा झूट’ भएको क्रेमलिनको दाबी

नेपालखोज २०८० भदौ ९ गते ६:००

काठमाडाैं । क्रेमलिनले रूसमा विद्रोहको नेतृत्व गरेको दुई महिनापछि विमान दुर्घटनामा मृत्यु भएका वाग्नर समूहका प्रमुख येवगेनी प्रिगोजिनको मृत्युको आदेश दिएको भन्ने अफवाहलाई शुक्रबार खण्डन गरेको छ । मस्को र सेन्ट पिटर्सबर्गको बीचमा प्रिगोजिन बोकेको निजी विमान दुर्घटना भएपछि क्रेमलिनको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

पश्चिमा देशहरू, क्रेमलिनका आलोचकहरू र क्रेमलिन समर्थक केही व्यक्तिहरूले मृत्युबारे विभिन्न अड्कलबाजीहरू गरेका छन् । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार पत्रकारहरूसँगकाृ कुराकानीमा यो घटनालाई ‘दुःखद’ भन्नुभएको छ र अधिकारीहरूको सम्भावित संलग्नताको बारेमा सार्वजनिक बहसलाई स्वीकार गरिने बताउनुभएको छ । ‘निस्सन्देह, पश्चिममा, यो अनुमानलाई एक निश्चित कोणबाट प्रस्तुत गरिएको छ । यो सबै सरासर झूट हो,’ पेस्कोभले भने ।

उनले सबैलाई धैर्य गर्न आग्रह गर्दै जारी अनुसन्धानले घातक दुर्घटनाको बारेमा तथ्यहरू प्रकट गर्ने बताए । रूसी अधिकारीहरूले हवाई यातायात उल्लङ्घनको बारेमा अनुसन्धान सुरु गरेका छन् तर अहिलेसम्म अनुसन्धान वा घटनाको विस्तृत विवरण सार्वजनिक गरेका छैनन् । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार दुर्घटनाप्रति आफ्नो मौनता तोड्दै विमानमा सवार १० जनाको परिवारप्रति समवेदना प्रकट गर्दै घटनालाई ‘त्रासदी’ को संज्ञा दिएका छन् । गत जुनमा रूसको सैन्य नेतृत्वविरुद्ध सशस्त्र विद्रोहको नेतृत्व गरेका प्रिगोजिनले आफ्नो जीवनमा केही गम्भीर गल्ती गरेको र यो उहाँको जीवनको ‘जटिल नियति’ भएको उनले बताए । अल्पकालीन तर रक्तपातपूर्ण अशान्तिलाई पर्यवेक्षकहरूले पुटिनको लामो शासनका लागि सबैभन्दा ठूलो खतराको रूपमा हेरेका थिए ।

पुटिनद्वारा ‘समवेदना’ व्यक्त

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोनजिकै बुधबार भएको विमान दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । क्रेमलिनका अनुसार डोनेट्स्कका कार्यवाहक प्रमुख डेनिस पुशिलिनसँगको भेटमा पुटिनले भने, ‘जहाँसम्म विमान दुर्घटनाको कुरा छ, सर्वप्रथम म मृतकका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु ।’ मस्कोबाट सेन्ट पिटर्सबर्गका लागि उडेको एउटा निजी एम्ब्रेयर विमान बुधबार टभर क्षेत्रमा दुर्घटनाग्रस्त भएको रूसको आपतकालीन सेवामाममिला हेर्ने मन्त्रालयले जनाएको छ ।

रूसी फेडरल एजेन्सी फर एयर ट्रान्सपोर्टले वाग्नर सैन्य समूहका प्रमुख येभगेनी प्रिगोजिन पनि विमानमा सवार यात्रुमध्ये एक रहेको पुष्टि गरेको छ । पुटिनका अनुसार प्रिगोजिन बुधबार अफ्रिकाबाट फर्किनुभएको थियो । उनले रूसका केही अधिकारीसँग भेटवार्ता गरेका थिए । प्रिगोजिनमाथि गत जुनमा रूसमा सशस्त्र विद्रोह गर्ने प्रयास गरेको आरोप लागेको थियो । जुन २४ मा, प्रिगोजिन रोस्तोभ–अन–डोन शहरमा रूसी सशस्त्र बलको दक्षिणी सैन्य जिल्लाको मुख्यालयमा प्रवेश गरेका थिए । मस्को र प्रिगोजिनबीच बेलारूसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोको मध्यस्थतामा सम्झौता भएको बताइएको छ ।

प्रतिक्रिया