‘नेपाललाई हल्का रूपमा नलिउ, ठूला टिमले धूलो चाटेका छन्’

नेपालखोज २०८० भदौ ९ गते १३:४५

एसिया कप – २०२३ को समुह चरणमा नेपालसँगै भारत र पाकिस्तान एउटै समुहमा छन् । यसै सन्दर्भमा नेपाली टिमका बारेमा बिश्लेषण गर्दै भारतको ठूलो टेलिभिजन च्यानल आजतकको अनलाइन संस्करण लेख्छ – विश्व क्रिकेटमा नेपाल पक्कै पनि नयाँ टोली हो तर यसले धेरै ठूला टोलीलाई पराजित गरेको छ । आउनुहोस् हेरौं  नेपाली क्रीकेट टिमका सम्बन्धमा आजतकको समाचार :

एसिया कप – २०२३ चाँडै सुरु हुँदैछ । प्रतियोगिताको पहिलो खेल अगस्ट ३० मा हुनेछ । उदघाटन खेलमा पाकिस्तान नेपालसँग आफ्नै घरमा भिड्नेछ । एसिया कपमा ६ टिम भारत, पाकिस्तान, श्रीलंका, नेपाल, अफगानिस्तान र बंगलादेशलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा भारत, पाकिस्तानसँगै नेपाल पनि  छ । एसिया कपका बाँकी टिमले नेपाललाई हल्का रुपमा लिने सम्भावना छ । यदि त्यसो हो भने यो कुरा त्यो टिमका लागि महँगो पर्न सक्छ। नेपाल हल्का टिम होइन र उसले युएईजस्तो मजबुत टिमलाई हराएको छ ।

नेपालले पहिलो पटक एसिया कप जस्तो प्रतियोगिता खेल्ने भएको छ । एसिया कप – २०२३ को छनोट खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । यस क्रममा उसले फाइनल खेलमा युएईलाई ७ विकेटले पराजित गर्दै एसिया कप – २०२३ मा स्थान बनाएको हो ।

नेपालले अगस्ट ३० मा पाकिस्तानको सामना गर्नेछ । भारतीय टिमले सेप्टेम्बर ४ मा नेपालसँग खेल्नेछ । यस मामिलामा दुवै टिमले नेपाल सँग होसियार हुनुपर्नेछ ।

नेपालले एकदिवसीय क्रिकेटमा ५७ खेल खेलेको छ जसमध्ये ३० मा जित निकालेको छ जबकि उसले २५ खेलमा हार बेहोरेको थियो । एक खेल बराबरी र एक खेल अनिर्णित रह्यो । हालसालै  ३ खेलको टी-२० सिरिजको दोस्रो खेलमा युएईले न्युजिल्यान्डलाई हराएको थियो।

नेपालले युएई र नेदरल्याण्डजस्ता टिमलाई हराइसकेको छ । नेपालले एकदिवसीय ढाँचामा युएईसँग सबैभन्दा धेरै खेल खेलेको छ। २०१८ यता यी दुई देसबीच १५ खेल भएका छन् जसमा नेपालले युएईसँग ९ खेलमा पराजय भोगेको छ । 

युएई बाहेक नेदरल्याण्ड, स्कटल्याण्ड जस्ता देस पनि नेपालसँग पराजित भएका छन् । नेपालले नेदरल्याण्डसँग तीन खेल खेलेको छ भने एकमा जित निकालेको छ ।

योसँगै स्कटल्याण्डसँग खेलेका ६ मध्ये ३ खेलमा नेपालले अग्रता लिएको छ । यसबाहेक नेपालले नामिबिया, ओमान, पपुवा न्युगिनी र अमेरिकालाई पनि जितेको छ ।

एकदिवसीय क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शन

नेपालका लागि एकदिवसीय क्रिकेटमा कप्तान रोहित पौडेलले सर्वाधिक रन बनाएका छन् । रोहितले ५२ खेलमा ३१.९३ को औसतमा १४६९ रन बनाएका छन् । त्यसपछि आसिफ शेख र कुशल भुर्तेलले ४१ र ४४ खेलमा क्रमशः ११८७ र ९८६ रन बनाएका छन् । बलरको कुरा गर्दा स्पिनर सन्दीप लामिछानेले ४९ खेलमा १७.२५ को औसतमा १११ विकेट लिएका छन् ।

करण केसीले ४६ खेलमा ७३ विकेट लिएका छन् भने सोमपाल कामीले ४७ खेलमा ६३ विकेट लिएका छन् । नेपालले वेस्ट इन्डिज, जिम्बाब्वे र आयरल्यान्डसँग पनि १–१ खेल खेलेको छ तर ती सबै खेलमा उसले हार बेहोरेको थियो ।

नेपालले एसिया कपमा भारत र पाकिस्तानजस्ता शीर्ष वर्गका टिमलाई हराउन नसके पनि उनीहरुविरुद्ध खेल्दा धेरै कुरा सिक्ने अबसर पाउनेछ ।

प्रतिक्रिया