उपाधि जित्न नेपाललाई हङकङले दियो १ सय २ रनको लक्ष्य

काठमाडौं । हङकङले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा नेपाललाई उपाधि जित्न १ सय २ रनको मध्यम लक्ष्य दिएको छ । मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनायो ।
हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाइन् । त्यस्तै मारिना लम्प्लगले २० बलमा २ चौकासहित १९ रन बनाइन् । चौथो विकेटका लागि केरी र मारिनाले ३० रनको साझेदारी गरेका थिए ।
तीव्र गतिकी बलर अश्मिना कर्माचार्यले दोस्रो ओभरको तेस्रो बलमा हङकङकी प्रमुख ब्याटर मारिको हिल शून्यमा कविता जोशीबाट क्याच आउट भइन् ।
अर्को ओभरमा ओपनर तथा प्रमुख ब्याटर नताशा तारा मिल्स ६ रनमा रन आउट भइन् । प्रमुख दुई ब्याटर आउट भएपछि हङकङले रन बनाउन संघर्ष गरेको थियो ।
इक्रा साहर ८ बलमा १ चौकासहित १० रनमा अविजित रहिन् । शान्जिन शाहजाद १० बलमा १ चौकासहित १४ रन बनाइन् । नेपालको खुशी डंगोलले ३ ओभरमा २० रन खर्चेर ३ विकेट लिइन् । अश्मिना कर्माचार्य र कविता जोशीले एक एक विकेट लिए ।
नेपालले आज ओपनर विन्दु रावलको स्थानमा अप्सरी बेगमलाई मौका दिएको छ । नेपालले टोलीमा अन्य परिवर्तन गरेको छैन । नेपाल शीर्ष र हङकङ दोस्रो स्थानमा रहँदै फाइनल खेलेका हुन् ।

प्रतिक्रिया