नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै

नेपालखोज २०८० भदौ १० गते १५:५४

मलेखु(धादिङ) । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ ।

सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ ।

यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाका आयोजना पूर्वी खण्डका योजना प्रमुख ईश्वर रिजालले बताए । उनका अनुसार पहिलो चरणअन्तर्गत हालसम्म ३५ प्रतिशत, दोस्रोमा १० प्रतिशत र तेस्रोमा करिब तीन प्रतिशत काम भएको छ ।

एक तर्फी गाडी सञ्चालन गराउँदै टेवा पर्खाल, नाली निर्माण, मोड सुधार, बेस्ट वाल निर्माणलगायत काम भइरहेको रिजालले जानकारी दिए । नेपाल सरकार र विश्व बैंकको ऋण सहयोगमा १२ अर्बको लगानीमा पृथ्वीराजमार्गको नागढङ्गा–मुग्लिन सडकखण्ड स्तरोन्नतिको काम थालिएको उनले बताए ।

सडक विभागको तथ्याङ्क अनुसार पृथ्वीराजमार्ग र त्रिभुवन राजपथहुँदै दैनिक साना ठूला गरी करिब १५ हजार सवारी काठमाडौं ओहोरदोहोर हुँदै आएका छन् ।

प्रतिक्रिया