कागबेनीमा आएको बाढीले करोडौँको क्षति

नेपालखोज २०८० भदौ १० गते १६:२५

ढोरपाटन (बागलुङ) । गत साउन २८ गते मुस्ताङको कागखोलामा आएको बाढीले मानवीय क्षति नपुर्‍याए पनि करोडौँको भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आएको बाढीका कारण अहिले यहाँका सयौँ स्थानीय आफन्तको आश्रय लिएर बसेका छन् ।

व्यापार तथा कृषि पेसामा आवद्ध भएकाको घर, पुल र गरी खाने बारीनै बगरमा परिणत गरीदिएपछि अहिले हातमुख जोड्न समस्या भइरहेको उनीहरु बताउँछन् ।

गाउँपालिकाको विपद् व्यवस्थापन समितिले तयार गरेको तथ्याङ्कअनुसार बाढीले कागबेनीमा करिब एक अर्ब बराबरको भौतिक संरचनामा क्षति पुर्‍याएकोे छ । भौतिक पूर्वाधार, स्थानीयको घर, व्यवसाय तथा विभिन्न सङ्घसंस्थाको कार्यालयमा क्षति पुर्याएको समितिले जनाएको छ ।

बाढीले किसानका स्याउ बगैँचा र सिँचाइ कुलोमासमेत ठूलो क्षति पुर्‍याएको गाउँपालिकाका कृषि शाखा प्रमुख लोकेन्द्रसिंह धामीले बताए । उनका अनुसार शाखाको तथ्याङ्कमा उल्लेख गरिए अनुसार यहाँका किसानको करोड बढीको स्याउ, खुर्पानी, ओखर र नास्पातीलगायतका फलफूल बोटमा क्षति पुर्‍याएको छ ।

बाढीले ११ रोपनी तीन कठ्ठा बारीमा लगाइएको स्याउ बगैँचासहित फलफूलमा क्षति पुर्‍याएको कृषि शाखा प्रमुख धामीले जानकारी दिए । उनका अनुसार करिब एक सय ६९ भन्दा बढी स्याउका बोटमा क्षति पुगेको छ ।

स्थानीय मिङमर गुरुङको ४५ स्याउका बोट र नर्सरी, ७१ भन्दा बढी खुर्पानीको बोट नष्ट भएको जानकारी दिए । बाढीले सबैभन्दा बढी स्थानीय किसान कुङ्गा नमडुल गुरुङ, पेमा निङ्बो विष्ट र कर्म छोक्ले गुरुङको स्याउ बारीमा रहेका बोटमा क्षति पुर्‍याएको धामीले बताए ।

बाढीले सडक, मोटरेबल पुल, झोलुङ्गे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्धलगायत १४ वटा भौतिक पूर्वाधार गरी २१ करोड दुई लाख बराबरको क्षति पुर्‍याएको गाउँपालिकाले तयार गरेको तथ्याङ्कमा उल्लेख छ । उक्त विवरण अनुसार ५० घरमा ५२ करोड ८९ लाख ७५ हजार मूल्य बराबरको क्षति भएको छ भने बाइस पूर्ण र पाँच घरमा आंशिक रुपमा क्षति भएको थियो ।

प्रतिक्रिया