प्रधानमन्त्रीको चीन भ्रमणमा समेटिनुपर्ने विषयमा छलफल

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न चीन भ्रमणमा पोखरा तथा गण्डकी प्रदेशका उठ्नुपर्ने विषयका सम्बन्धमा आज पोखरामा छलफल गरिएको छ ।
पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा वक्ताले प्रधानमन्त्रीको भ्रमणका क्रममा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा सीधा अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनलगायतमा छलफल हुनुपर्नेमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले सञ्चालनमा आएर पनि हालसम्म अन्तर्राष्ट्रिय उडान हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका सहरबाट सीधा उडान गर्ने विषयमा भ्रमणका क्रममा छलफल हुनुपर्ने बताए । पोखरा विमानस्थलको हाल रहेको दुई हजार पाँच सय मिटरको धावन मार्गलाई थप पाँच सय मिटर बढाउने सम्बन्धमा पनि छलफल हुनु जरुरी रहेको उनले बताए ।
नेपाल चीनबीचको कोरोला नाका सञ्चालनमा ल्याउने विषय पनि भ्रमणका क्रममा प्राथमिकतामा पर्नु आवश्यक रहेको उनको भनाइ छ । कोरोला नाका चीनका लागि पनि सहज हुने भन्दै उ्नले चीन र भारतका बीचको अन्तरदेशीय व्यापारका लागि पनि यो नाका सञ्चालनमा आउनु महत्त्वपूर्ण रहेको उ्नले बताए ।
पोखरालाई पर्यटकीय गन्तव्यका लागि सूचीकृत गर्नुपर्ने, पोखरामा महावाणिज्य दूतावास स्थापना गर्नुपर्ने, प्रविधिको हस्तान्तरणलगायतका विषयलाई पनि प्राथमिकतामा राख्न सकिने उनले बताए ।
पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापतिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान, कोरोला नाका सञ्चालनका साथै हङकङलगायतका सहरबाट पोखरामा सीधा उडानका विषय नै भ्रमणमा उठ्नुपर्ने प्रमुख विषय रहेको बताए ।
प्रतिक्रिया