आरम्भचोकसम्म खोलियो छोपिएको यज्ञमती र चखुँचा खोला

नेपालखोज २०८० भदौ १२ गते १२:३६

काठमाडौं । काठमाडौं महानगरपालिकाको नेतृत्वमा गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको बहाव क्षेत्र छुट्याउने काम आरम्भचोकसम्म सकिएको छ ।

खोला छुट्याउने कामसँगै यहाँसम्म जग्गाको नापजाँच पनि गरिएको महानगरपालिका–६ का अध्यक्ष भुवन लामाले जानकारी दिए ।

काठमाडौं उपत्यकामा बस्ती बढेसँगै विसं २०६० पछि यस क्षेत्रका दुवै नदी पुरेर घर बनाउन थालिएको थियो । यसरी खोलालाई ढल बनाउँदा वर्षायाममा कपन र सरस्वतीनगर क्षेत्र डुबानमा पर्न थालेपछि महानगरपालिकाले खोला खोल्न थालेको हो ।

महानगर क्षेत्रमा पहिले नै खोलासँगै चार मिटरको बहाव क्षेत्र छोडिएको छ तर बूढानीलकण्ठ नगरपालिका–१० को भागमा भने खोलासँगै चार मिटर बहाव क्षेत्र नछोडी घर बनाइएको छ ।

खोलाको दायाँबायाँ चार-चार मिटर खुला भाग छोडेर घर बनाउनुपर्ने मापदण्ड भए पनि त्यो तत्कालीन कपन गाविसले पालना नगरेको यो प्रकरणले देखाएको छ ।

प्रतिक्रिया