बढ्दो वन्यजन्तु आतङ्क

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–१० स्थित वडा कार्यालयमा स्थानीय पाँच कृषकले जङ्गली जनावर बँदेलले बारीका मकैमा क्षति पुर्याएको जनाउँदै निवेदन दिएका छन् । कृषकले बँदेल नियन्त्रण तथा पुगेको क्षतिपूर्ति दिलाउन माग गरेका हुन् ।
‘दुई रोपनी बारीको मकै बँदेलले भाँच्दै र केही मकै खाँदै सखाप बनायो, बँदेल नियन्त्रण गर्दै बारीमा पुगेको क्षतिपूर्ति पाइन्छ कि भनेर वडा कार्यालयमा सिफारिस लिन गएका हौँ’, स्थानीय शङ्कर कोइरालाले भने ।
उनका अनुसार दुई रोपनी बारीमा मकै फलाउन २० हजार खर्चिएको हो । उनको बारीमा नजिकको इन्द्रेश्वरी थल्पु वन ‘क’बाट केही सङ्ख्यामा बँदेल आई छिप्पिन लागेको मकैमा क्षति पुर्याएका थिए । खोपासीमा केही दिनदेखि बँदेलले बारीका मकै सखाप पारिरहेको छ ।
वर्षभरि परिवार र गाईवस्तुका लागि बारीमा लगाएको मकै पाक्ने बेलामा बँदेल पसेर विनास गर्न थालेपछि स्थानीयवासी निकै चिन्तित बनेका हुन् । अर्का स्थानीय मैया महतले आफुले १० रोपनी बारीको मकै वनबाट आएका बँदेलले यही हप्ता विनास गरेको बताए । उनको बाली बँदेलले विनास गरेको यो पहिलो पटक भने होइन । ‘प्रक्रिया पुगेका कृषकलाई वन कार्यालयले अधिकतम रु १० हजारसम्म राहत दिन्छ, यसअघि पनि मैले सोही प्रकारको क्षतिपूर्ति लिएको छु’, महतले भने ।
बँदेलले मकैमात्र नभई धान बालीसमेत विनास गर्ने गरेको वन उपभोक्ता समितिका सचिव बालकृष्ण फुयाँलले बताए । यस्तै उनले स्थानीय कृषकका खेतबारीमा पिँडालु, सखरखण्ड, भूईंस्याउ जस्ता नगदेबालीमा क्षति पुर्याउँदै आएको जानकारी दिए ।
बँदेलको आक्रमणबाट १० नं वडामा बर्सेनि करिब दुई सय रोपनी मकैबारीमा क्षति पुग्ने र ५० देखि ६० परिवारले राहतका लागि वडाबाट सिफारिस लाने गरेको वडाध्यक्ष मोहनबहादुर भण्डारीले बताए । उनका अनुसार क्षतिपूर्तिका लागि वडा कार्यालयको सिफारिस, प्रहरीको मुचुल्का, नगरपालिकाको कृषि प्राविधिकको स्थलगत अनुगमन तथा क्षतिको विवरण प्रतिवेदनसहित जिल्ला वन कार्यालयलाई बुझाउनुपर्ने प्रावधान छ ।
यसैगरी छ महिनाअघि चैतमा पनौती नगरकै ५ नं वडास्थित सुब्बागाउँको खेतमा रोपिएको आलुखेतीमा बँदेलले क्षति पुर्यायो । जङ्गलछेउका खेतमा एक रातमै करिव दुई तीन रोपनी खेतको आलुको ड्याङ भत्काएर खाने र कलिलैमा सपाख पारेपछि त्यतिबेला स्थानीय कृषक रातभर खेतमै बस्न बाध्य हुनुपरेको स्थानीय बुद्धिबहादुर थापाले सुनाए ।
‘राति बँदेलको समूहले ठाउँठाउँमा गरी १५ रोपनी जति खेतमा आलु क्षति पुर्याइसकेका थिए, त्यही भएर रातभर पाले बस्नुपर्यो’, उनले भने । उक्त घटनाको केही महिनाअघि गतवर्ष पनौतीकै कुशादेवी क्षेत्रमा समूह समूहमा आएको बाँदरले स्थानीयलाई निकै दुःख दिएका थिए ।
वि.सं २०७९ असारमा मण्डनदेउपुर नपा–९ स्थित रायोबारीमा चितुवाले एक फार्मका तीन सय ५० कालिज मारेको थियो । बिहान ३ बजे अध्याँरोको समयमा कालिज मार्दै खाँदै गरेपछि स्थानीयले देखेर चिच्याएपछि चितुवा भागेको थियो । मारेको ३५० मध्ये चितुवाले ६० वटा कालिज खाएको थियो । बाख्रा, टर्की र कुखुरापालन गरिएको उक्त फार्ममा त्यतिबेला रु आठ लाखको क्षति भएको थियो ।
घटनाक्रमले काभ्रेपलाञ्चोकमा केही वर्षदेखि जङ्गली जनावरको आतङ्क बढ्दै गएको देखिएको छ । जङ्गल नजिक बस्तीका कृषकका बाली नष्ट भएका छन् भने यदाकदा, चितुवाजस्ता हिंस्रक जनावरको आक्रमणले जनधनको क्षति हुँदा मानिससमेत त्रसित अवस्थामा बस्नुपर्ने बाध्यता देखिन्छ ।
पाँचखाल नपा–१३ कोशीदेखाका बासिन्दा चार वर्षदेखि बँदेल र बाँदरले बालीमा पुर्याउँदै आएको क्षति सहँदै तिनका आतंकले निकै आजित बकिसकेका छन् । स्थानीय यमलक्ष्मी थपलियाले बँदेल र बाँदरले कटहर र अदुवाबाहेक सबै खाने गरेको दुःखेसो पोखे । ‘जङ्गली जनावरको आतङ्क नरोकिए विस्थापित हुनुपर्ने बाध्यता देखिसकेको छ’, उनले भने । स्थानीय जनप्रतिनिधिसँग पटकपटक दुःखेसो पोखे पनि समाधानको कुनै उपायबारे सल्लाह र सहयोग नभएको उनको गुनासो छ ।
एक दशकको अवधिमा काभ्रपलाञ्चोकका विभिन्न स्थानमा चितुवाले बालबालिकालाई खाएको तथा खेतबारीमा कृषकलाई घाइते बनाएको, वन्यजन्तुका लागि थापिएको विद्युतीय धरापमा परेर केही वर्षअघि बर्दियामा एकाघरका तीन जनाको मृत्युले पनि पछिल्ला वर्षका दिनमा मानव–वन्यजन्तुबीचको बढ्दो द्वन्द्व र तस्करका लागि अनुकूल अवसर र वन्यजन्तुप्रतिको प्रतिशोधको अवसरले गर्दा प्रभावित स्थानीय संरक्षणप्रति उदासीन हुने गरको सङ्केत गरिरहेको छ ।
यो अवस्थामा स्थानीय निकायले ऐन, कानुन निर्माण गरी आफ्नो क्षेत्रमा वन्यजन्तु संरक्षणको वातावरणका साथै यसको द्वन्द्व व्यवस्थापन र चोरीशिकारी नियन्त्रणमा ध्यान दिनु अपरिहार्य भइसकेको छ ।

प्रतिक्रिया