बिहीबार, जेठ ३, २०८१

नेवारे झरनाले प्रचार पाएन

नेपालखोज २०८० भदौ १५ गते ७:१६

ढोरपाटन । नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो । बागलुङ बजार नजिकै रहेको नेवारेखोला झरना काठेखोलाको छेउमै रहेको छ । बागलुङ नगरपालिका–१० मा रहेको यस झरनाको अग्लो पहाडबाट झरेको छ ।

वरपर शान्त, स्वच्छ र मनोरम वातावरण रहेको हुँदा झरनाले धेरैलाई आकर्षित गर्छ । बागलुङ, कालिका, लामो झलुङ्गे पुल लगायतका पर्यटकीय क्षेत्रको नजिकै थप अर्को झरना पहिचान भएपछि यसको प्रचारप्रसार र प्रवर्द्धन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् ।

करिब ५० मिटर अग्लो स्थानबाट झरेको झरनाको फेदमा एउटा ताल छ । त्यो ताल अहिले अव्यवस्थित छ । बागलुङ बजार नजिकै भएर पनि ओझेलमा परेको यो झरना अब तीव्र रुपमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउनतर्फ लाग्ने नगर उपप्रमुख राजु खड्काले बताए । उनले हिउँद बर्खा बाह्रै महिना यहाँ पानी बग्ने हुँदा यो झरना पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताए । यस वर्ष मात्रै झरनाको पहिचान भएको जनाउँदै उनले आगामी वर्षदेखि बजेट व्यवस्थापन गरेर यहाँ पूर्वाधार निर्माण गर्ने र प्रवर्द्धनमा लाग्ने बताए ।

‘यो झरना अत्यन्तै सुन्दर छ, अहिलेसम्म कसैको नजर पुग्न सकेको थिएन, यो नगरपालिकाको सम्पत्ति हो, यसको विकास र प्रवर्द्धनका लागि नगरपालिका योजना बनाएर लाग्छ, वनको बीचमा रहेको हुँदा यहाँ विश्राम गर्ने, योगा, ध्यान गर्नका लागि पनि अति उपयुक्त छ’, उपप्रमुख खड्काले भने, ‘अब सबैभन्दा पहिला यहाँसम्म सहज रुपमा पुग्ने पहुँच मार्ग निर्माण गर्ने र अन्य पूर्वाधार बनाएर तीव्र प्रचार गर्नुपर्ने छ, यसका लागि हामीहरुले आगामी वर्षदेखि काम गर्छौं, यहाँ पानी बाह्रै महिना बग्छ, हिउँदमा केही कम हुनु स्वाभाविक हो, व्यवस्थित गर्न जरुरी छ ।’

झरनाभन्दा माथि सडक निर्माण भएको हुँदा सडकबाट आएको भलले झरनाको फेदको तालमा क्षति पु¥याएको छ । बागलुङ बजारदेखि नेवारेखोला झरनासम्म पुग्न १५ मिनेट मात्र लाग्छ । अब झरनाको फेदमा पोखरी, छेउछाउमा बगैँचा र झरनासम्म पुग्ने पर्यटकका लागि रेष्टुरेन्ट सञ्चालन गर्ने योजना बनाइएको उपप्रमुख खड्का बताउछन् ।

झरनाको पहिचान भएपछि पहिलो पटक त्यहाँ पुगेका नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले झरनासँगै त्यस वरपरको वातावरण प्राकृतिक रुपमा निकै सुन्दर रहेको हुँदा पर्यटक भित्र्याउन समस्या नभएको बताए । अहिले पनि झरना नजिकै सडक पुगेको हुँदा त्यस सडकलाई व्यवस्थित गर्न सकियो भने पर्यटक गाडीमै झरनासम्म पुग्न सक्ने गिरीको भनाइ छ । पदमार्ग, सडक र अन्य व्यवस्थापनका काम गर्न जरुरी रहेको उनी बताउछन् ।

इन्जिनियर गिरीले भने, ‘जङ्गलको कुनामा हुँदा यो झरना अहिलेसम्म ओझेलमा परेको रहेछ, स्थानीयहरुले देखे पनि बाहिर ल्याउन सक्नुभएको थिएन, यो झरना राम्रो छ, त्यहाँ जाने बाटो राम्रो बनाउने हो भने बागलुङ आउने अधिकांश पर्यटकलाई पु¥याउन सहज पनि छ, पार्क, स्विमिङपुल बनाउन सके बागलुङ बजारवासीसँगै बाहिरबाट आउने आगन्तुकलाई घुमफिर गर्न निकै राम्रो स्थान छ, अहिले बाटो राम्रो छैन, एक दिन मेसिन लगेर सडक खुलायो भने गाडीमा पनि सहजै पुग्न सक्छन् ।’

प्रतिक्रिया