मंगलबार, असार १०, २०८२

सुशासन र समृद्धिको यात्रामा सरकार : प्रधानमन्त्री

नेपालखोज २०८० भदौ १५ गते २०:५१

गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले सुशासन र समृद्धिको यात्रामा सरकार अघि बढेको बताएका छन् । समाजवादी मोर्चा, नेपालद्वारा आज पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सन्देशसभालाई सम्बोधन गर्दै उहाँले अर्थतन्त्र तहसनहस बनिरहेका अवस्थामा आफूले सरकारको नेतृत्व लिएको बताए । यसबीचमा निजी र सार्वजनिक क्षेत्रबीच सहकार्य बढाउँदै अर्थतन्त्रलाई सही गतिमा अघि बढाउने काम भएको प्रधानमन्त्री दाहालको दाबी छ ।

उनले रेमिट्यान्स एवं राजस्व बृद्धि, विदेशी मुद्रा सञ्चितीलगायतमा उपलब्धि हासिल भएको बताए । अर्थतन्त्रमा अझै पनि दबाब कायम रहेको बताउँदै उनले बैंकको ब्याजदर, सहकारी क्षेत्रलगायतमा देखिएका समस्या क्रमशः समाधान गर्दै जाने बताए । भ्रष्टाचार विरोधी अभियानलाई सरकारले निडरताका साथ अघि बढाइरहेको बताउँदै प्रधानमन्त्री दाहालले यो अभियान सानो मनले सुरु नगरिएको र दोषी छ भने जोसुकै भए पनि पर्ने स्पष्ट पारे ।

भुटानी शरणार्थी, ललिता निवास प्रकरणलगायत विषयमा भइरहेका छानविन निष्कर्षतिर जाने उनले बताए । भारत भ्रमणका क्रममा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै उहाँले भएका उपलब्धिलाई सुन्ने तथा भन्ने वातावरण पनि नदिइएको उल्लेख गरे । आफूले चाँडै नै न्यूयोर्क र त्यसपछि चीनको भ्रमणमा जान लागेको जानकारी दिँदै उनले न्यूयोर्कमा जलवायु परिवर्तनबाट भएका विपत्तीलगायत विषयमा छलफल गरिने बताए ।

चीन भ्रमणको क्रममा पोखरा र लुम्बिनी विमानस्थलबाट सिधै चीनका विभिन्न शहरमा उडान भर्ने सम्बन्धमा छलफल गरिने उनले जानकारी दिए । उक्त भ्रमणका क्रममा कोरोला नाका र रूइला नाका खोल्ने चीनसँग सहमति गर्ने एजेण्डा तय भइसकेको प्रधानमन्त्री दाहालले बताए । नेपालले चीनसँग सुकेको घाँस निर्यात, राँगो तथा भैँसीको मासु नियात गर्न सक्ने धेरै किसिमका सम्भावना रहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसङ्घको महासभामा नेपालले जलवायु परिवर्तनका कारण नेपाललगायत तेस्रो मुलुकले भोग्नुपरेका समस्याबारे प्रमुखरूपले कुरा उठाउने बताए ।

जलवायु परिवर्तन नेपालको मात्रै नभएर सिङ्गो विश्वको मुद्दा भएको उनको भनाइ छ । विभाजित कम्युनिष्ट एक ठाउँमा केन्द्रित हुनु आवश्यक भएको उल्लेख गर्दै उहाँले समाजवादको नयाँ उद्देश्यमा पुग्नका लागि एकता आवश्यक भएको बताए । परिवर्तनको उपलब्धिको रक्षार्थ विभाजित भएर नभै एकताबद्धरुपमा अघि बढ्नु जरुरी रहेको बताउँदै उनले मोर्चा प्रतिको आस्था र विश्वास बढ्दै गएको बताए । नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताका लागि भनेर अहिलेको परिर्वतन ल्याएकाले अब काम गरेर देखाउनुपर्ने चुनौती रहेको बताए ।

जनताले वर्तमान सरकारप्रति ठूलो आशा गरेकाले काम गरेर जनताको मन जित्नुपर्नेमा उनले जोड दिए । वर्तमान सरकारले निष्पक्ष ढङ्गबाट काम गरिरहेकाले सबैले साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिए । देशमा सुशासन कायम गर्ने सँगसँगै सरकारले देश विकासका क्षेत्रसमेतमा पहल गरिरहेको अध्यक्ष नेपालले बताए । उनले मोर्चामा आवद्ध दलका नेता तथा कार्यकर्ताबीचमा प्रदेश तथा स्थानीयस्तरसमेतमा सुमधुर सम्बन्ध कायम गर्दै अघि बढ्न आग्रह गरे । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिबाट स्थापित उपलब्धिको रक्षाका लागि समाजवादी मोर्चा गठन भएको बताए ।

पछिल्ला समयमा क्रान्तिबाट पराजित शक्ति जुरमुराउन थालेको उल्लेख गर्दै उनले कम्युनिष्ट आन्दोलनमा देखिएका फुटहरू समाजवादी मोर्चाका रुपमा एकताबद्ध हुँदै अघि बढ्न थालेको बताए । पछिल्ला समयमा जनयुद्ध लडेर आएका विरुद्धमा, समाजवादी आन्दोलनका विरुद्धमा षडयन्त्र भैरहेको उनले बताए ।

जनता समाजवादी नेपालका कार्यकारी सदस्य शिवलाल थापाले नेपालको आवश्यकताअनुसार समाजवादी मोर्चा गठन भएको बताउँदै यो आगामाी २०८४ को निर्वाचनका लागि मात्र नभइ पछिसम्म पनि चलिरहने बताए । पछिल्ला समयमा सरकारले भ्रष्टाचारका फाइल खोलिरहेको बताउँदै उहाँले उक्त कार्य प्रशंसनीय भएको जिकीर गरे ।

प्रतिक्रिया