बाल व्यवहारमा अभिभावकको भूमिका

- बालबालिकाको लागि आदर्श वा प्रेरणामूर्ति उनीहरूका आमबुबा र शिक्षकहरू हुन् । बालबालिकाको विकासात्मक मनोविज्ञान/व्यवहार र भावना बुझेर उनीहरूको भावना, रुचि, आवश्यकताहरूको सही तरिकाले व्यवस्थापन गर्न अभिभावकले सहयोग गर्नुपर्दछ । यसबाट उनीहरूलाई मनोसामाजिक सन्तुलन गर्न मद्दत पुग्दछ ।
- आफ्नो बानी, व्यवहार र बोलीमा एकरूपता गर्नुपर्दछ । कहिले यस्तो कहिले त्यस्तो गर्नु हुँदैन ।
- अभिभावकको काम, गुण र व्यवहारमा समान रूपको (१) स्नेह/माया (२) सहमति/प्रशंसा (३) सहानुभूति (४) धैर्य (सन्तुलन) (५) स्वःअनुशासन (६) सकारात्मकता (७) उत्प्रेरणा आदि समेटिनुपर्दछ ।
- बालबालिकासँग उनीहरूको क्षमताअनुसारको अपेक्षा राख्नुपर्दछ । अरूसँग तुलना, प्रतिस्पर्धा र पक्षपात कदापि गर्नुहँुदैन । बालबालिकाले ४ बर्षको उमेरसम्ममा आफ्नो संवेगहरू अभिव्यक्त गर्न सक्दछन् तर स्वनियन्त्रण गर्न वर्षौ समय लाग्छ । साँचो बोल्ने, मायालु स्वर, नामले बोलाउने, आदर शिष्ट भाषाले कुराकानी गर्नुपर्दछ । भावना व्यक्त गर्न अवसर दिनुपर्दछ ।
- केही क्रियाकलाप र व्यवहारहरू बालबालिकाको विकासक्रमअनुसारको लक्षणहरू हुन्छन् तर आमाबुबाले यसलाई समस्याको रूपमा चिन्ता गर्नुहुँदैन । जस्तै— खेल सामान बिगारेर खोतल्नु, कापी किताब च्यात्नु, अग्लो ठाउँबाट उप्रनु, नयाँ अनुहारसँग डराउनु, रुनु आदि ।
सकारात्मक अनुशासन
बालबालिकाले विभिन्न क्रियाकलाप गर्दा नोक्सान वा हानि हुन सक्ने सम्भावना हुन्छ । यी नोक्सानीलाई भूलस्वरूप दण्ड सजाय, गाली, अवहेलना (ignore) को अनुभव गर्नुपरेमा बालबालिकाको व्यक्तित्व विकास र सिकाइमा नकारात्मक असर पर्दछ ।
सजायले तत्काल (एकछिन) लाई समस्या समाधान भएकोजस्तो देखिएतापनि यसको दीर्घकालीन परिणाम राम्रो हुँदैन । तसर्थ अनुशासन कायम गराउन डर र दबाब होइन, समझदारी र सहभागितालाई प्राथमिकता दिनुपर्दछ । सही अनुशासनले बालबालिकालाई सिकाउँछ तर सजायले बालबालिकालाई पीडा दिन्छ । तसर्थ सिकाउने नाममा बालबालिकालाई दिइएको पीडाले सकारात्मक परिवर्तन ल्याउन अझ कठिन बनाउन सक्छ ।
बालबालिकालाई स्वनियन्त्रित बनाउन र उनीहरूको आत्मविश्वास बढाउन सकारात्मक ढङ्गमा सिकाइने कुरा नै अनुशासन हो । सकारात्मक अनुशासनको मूल कुरा भनेको प्रोत्साहित गर्नु हो, कुन व्यवहार किन राम्रो वा नराम्रो हो भन्ने बारेमा स्पष्ट पार्नु हो । अनुशासन र आत्मविश्वास वा आत्मसम्मानको एकआपसमा अत्यन्त महवपूर्ण सम्बन्ध हुन्छ । अनुशासनविहीन बालबालिका, आत्मसम्मान वा आत्मविश्वासका साथ हुर्कन सक्दैनन् । त्यसैगरी आत्मसम्मान विनाको अनुशासन कोरा बन्धन हुन पुग्दछ र यसले पनि बालबालिकाको स्वभाविक विकासलाई बाधा पुर्याउँछ ।
असामान्य व्यवहारमा प्रतिक्रिया र सहयोग
बालबालिकाले गल्ती गरेर नै सिक्छन्, गल्ती गरेमा उनीहरूकै अनुभवबाट सुधार गर्ने अवसर दिनुपर्दछ । धैर्यताका साथ बालबालिकाले किन गल्ती गरे पत्ता लगाउनुपर्छ । यसो गर्नाले बालबालिकाले भविष्यमा आफ्ना गल्तीबाट पाठ सिकेर व्यवहार परिवर्तन गर्ने अवसर पाउँछन् ।
आफ्नो व्यवहार सधैँ एकनासको, समान र निष्पक्ष हुनुपर्छ । बालबालिकाले गरेको व्यवहारप्रति आफ्नो असहमति जनाउन उनीहरूसँग आँखा जुधाएर हेरिरहनुपर्दछ । बालबालिकासँग कुरा गर्दा, नाम लिंदा सामान्य स्वरले लिनुपर्छ । बालबालिकाले गरेको अनुचित कार्यप्रति उनीहरूको ध्यानाकर्षण गर्नुपर्दछ । सकारात्मक व्यवहार आफैँले गरेर देखाउनुपर्दछ ।
बालबालिकाले जे नगरुन् भन्ने लाग्दछ त्यो काम, व्यवहार र बोलीवचन तपाईले पनि गर्नुहुँदैन । बालबालिकालाई उनीहरूका साथीहरूसँग तुलना गर्नु हुँदैन । बालबालिकाले अपेक्षा गरेको कुरा के हो र किन भनी सरल भाषामा व्याख्या गर्नुपर्दछ ।
असल व्यवहारको लागि प्रोत्साहन र समर्थन
- बालबालिकालाई उनीहरूले राम्रो व्यवहार गर्दा प्रशंसा गर्नुपर्दछ, जस्तै ‘आज तिमीले आफ्नो खानेकुरा साथीभाइसँग बाँडेर खाएको देखेर म असाध्यै खुशी भएँ ।’
- बालबालिकालाई आफ्नो जिज्ञासा, अनुभूति व्यक्त गर्न सधैँ प्रेरित गर्नुपर्दछ ।
- प्रशंसा, हौसला गरी पुरस्कृत गर्नुपर्दछ ।
- समूहमा रहेको बेला अन्य बालबालिकाको ध्यान आकर्षित गर्ने गरी राम्रो कामको प्रशंसा गर्नुहोस्, जस्तै ‘सबैले हेर त, सुनिलले नपोखी खाजा खाइरहेको छ ।’
युनिसेफ नेपाल

प्रतिक्रिया