धान, मकै र गहुँको उत्पादकत्व वृद्धि

नेपालखोज २०८० भदौ २० गते १५:४८

गण्डकी । गण्डकी प्रदेशमा मुख्य खाद्यान्न बाली मानिएका धान, मकै र गहुँको उत्पादकत्व वृद्धि भएको छ । प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयका अनुसार आव २०७८/७९ मा धानमा तीन दशमलव ४३, मकैमा दश दशमलव २२ र गहुँमा सात दशमलव ९२ प्रतिशतले उत्पादकत्व बढेको हो ।

आव २०७७/७८ मा प्रतिहेक्टर ३.५ मेट्रिक टन धान उत्पादन भएकामा आव २०७८/७९ मा बढेर ३.६२ मेट्रिक टन पुगेको हो । आव २०७७/७८ मा प्रतिहेक्टर २.७४ मेट्रिक टन मकै उत्पादन भएकामा पछिल्लो वर्ष ३.२ मेट्रिक टन उत्पादन भएको मन्त्रालयले जनाएको छ ।

पछिल्ला दुई आवमा गहुँको उत्पादकत्व पनि बढेर प्रतिहेक्टरमा २.४ बाट २.५९ मेट्रिक टन पुगेको प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी मकैको उत्पादकत्व वृद्धि भएको पाइएको छ ।

मुख्य खाद्यान्न बालीको उत्पादकत्व प्रतिहेक्टर ३.८ मेट्रिक टन पुर्‍याउने प्रदेशको पहिलो पञ्चवर्षीय योजनाको लक्ष्य रहेको रेग्मीले जानकारी दिए ।

प्रतिक्रिया