गीताशास्त्रमा समग्र मनुष्यको अधिकार

हरिविनोद अधिकारी २०८० भदौ २१ गते ५:००

काठमाडाैं । महाभारतमा युद्धको कथा र चर्चामात्र रहेकाले महाभारत भनेपछि झगडा, विवाद र मारकाट भन्ने मात्र बुझिन थालेको हो । श्रीमद्भगवतगीताको भाग पनि रहेको छ जसले युद्धभन्दा पनि दैनन्दिनी जीवनका लागि कर्मयोगका बारेमा बहसको थालनी गरेको छ ।

गीतामा वेदको सारांश छ, उपनिषद्को गुदी समेटिएको छ, कर्मको आधार देखाइएको छ, भक्तिमार्गको डोरेटो पहिचान गरिएको छ र योगलाई नयाँ तरिकाले परिभाषित गर्दै योगसँग जीवनको तादात्म्यता स्पष्ट पारिएको छ । योग भनेको जोड हो र योगले जीवन तथा जगतसँग कसरी तादात्म्यता राख्न सक्छ भनेर योगलाई कर्म, भक्तिसँग जोड्दै कर्म गर्ने तर फलको आशा नगर्ने योगाभ्यास गर्नका लागि प्रेरित गरेको पाइन्छ ।

पूर्वीय चिन्तनलाई विश्वभर सहज तरिकाले सम्झाउने गीता नै हो भनेर ठोकुवा गरिएको छ। यो जीवन दर्शनको रहस्यमय गुत्थी सुल्झाउन समर्थ छ भन्ने कुराको प्रमाणचाहिँ अर्जुनमा पलाएको विषाद र विषादको अन्त्य गरेर उनले बिसाएको गाण्डीवलाई फेरि प्रयोग गर्दै धर्मयुद्धका लागि तयार हुनुलाई मानिन्छ । कतिपय कुराहरू रहस्यमय छन् जसले जीवनका धेरै गुत्थीहरू सुल्झाउनका लागि अभिप्रेरित गर्दछन्। त्यस्ता गुत्थीहरू शदियौँसम्म समाधानका लागि अध्येताहरू लागिरहने छन् भन्ने विश्वास गर्न सकिन्छ किनभने आज पनि त्यसको अध्ययनमा अध्येताहरू लागिरहेका छन् ।

वेदका बारेमा कसले पढ्न हुन्छ, कसले पढ्न हुँदैन र कसरी त्यसको अध्ययन, अध्यापन गर्न गराउन सकिन्छ भन्ने बारेमा अनेक नीति तयार गरेको पाइन्छ तर गीताका लागि भने यस्तो कुनै अवरोध कसैका लागि पनि राखिएको छैन । यस गीताशास्त्रमा मनुष्यमात्रको अधिकार छ, चाहे ऊ कुनै पनि वर्णको होस्, कुनै आश्रमको होस् तर भगवानमा श्रद्धालु र भक्तियुक्त अवश्य हुनुपर्दछ किनकि भगवानले आफ्ना भक्तमा नै यसको प्रचार गर्नका लागि आज्ञा दिनुभएको छ । यो पनि भनिएको छ कि स्त्री, वैश्य, शूद्र र पापयोनिमा पनि मेरो परायण भएर परमगतिमा प्राप्त गर्नेछन् ।

संस्कृत वाङ्मयमा अनेक रत्नहरू छन्, जसको प्रयोग अहिले हामी पूर्वीयले भन्दा पश्चिमाहरूले बुझेर अर्थ लगाउने अनि त्यसबाट नयाँ नयाँ आविष्कार गर्ने गर्न थालेका छन् । संसारमा अहिले संस्कृतको महत्वलाई बुझेर होला, विभिन्न देश, विभिन्न विश्वविद्यालयहरूमा संस्कृत विभागहरू राखेर सूक्ष्मरूपमा अध्ययन गर्न थालिएको छ र हाम्रा श्रुतिस्मृतिहरूको गहिरो अध्ययन गर्नका लागि अनुसन्धानको व्यवस्था गरिएको पाइन्छ । पश्चिमले भनेपछि बल्ल हामीलाई हाम्रो पौराणिक भाषा, पौराणिकताको महत्व बढेको भान हुन थालेको छ।

जुनबेला संस्कृत भाषाको विकासले आफ्नो उर्ध्वगति लिएको थियो, संस्कृतमा अनेक साहित्यको सृजना गरिएको थियो र साहित्यमार्फत् नै जीवन – जगतको परिभाषा गरिएको थियो, व्याख्या गरिएको थियो र त्यसको अभ्यास गरिएको थियो, त्यो बेलामा आजका कतिपय देशहरूको अस्तित्व नै थिएन । पूर्वीय संस्कृतिको प्रादूर्भावका बारेका अनुमानका आधारमा मात्र भन्न सकिने गरी प्राचीनतम समयको संस्कृति मान्न थालिएको छ। हामी आजको आँखाबाट हिजोको व्याख्या गर्न तम्सिएका छौं। अझ आधुनिक समयले गणना गर्न पनि नसक्ने बेलाको मनोविज्ञानको अहिलेको अवस्थामा कसरी व्याख्या गर्न सकिन्छ र ?

प्राच्य वाङ्मय हाम्रा तपस्वी, ध्यानमग्न र सधै अनुशीलनका लागि अभ्यासरत मुनिहरूको ज्ञान र अनुभूतिहरूको अनुपम उदाहरण हो । समयले गणना गर्ने बेलाभन्दा पनि पहिले देखि नै आफूलाई ज्ञान, विज्ञान र साहित्यको क्षेत्रमा समर्पण गर्ने प्राचीन मनीषीहरूले नै विश्वकै प्राचीनतम ग्रन्थ ऋग्वेददेखि समस्त वैदिक साहित्य, विभिन्न जीवन दर्शनहरू, जीवनका लागि आवश्यक उदाहरणहरूको साहित्यिक प्रक्रियामा वयान गर्दै पुराण, व्याकरण, ज्योतिष, योग, आयुर्वेद एवम् कला साहित्यसमेत समेटिएका अमूल्य रत्नहरूको आविष्कार गरेका रहेछन् भन्दा अत्युक्ति हुँदैन ।

हाम्रा ऋषि मुनिहरूले अत्यन्त जोड केमा दिएका थिए भने संसार अनित्य छ, नित्य भनेको प्रकृति हो र प्रकृतिमा प्रादूर्भाव भएको मानव स्वत्व हो। संसार परिवर्तनशील छ । यस जगतका चर अचर, सजीव निर्जीव, देखिएका नदेखिएका सबै पदार्थहरू परिवर्तनशील छन् । यहाँ नित्य र स्थायी भनेको केही छैन। कसैले यसको सञ्चालन गरिरहेको छ र त्यो अदृश्यरूपमा भए पनि हामीसँग पटक्कै टाढा पनि छैन, नजिक पनि छैन, सँगै पनि छैन र पनि शरीर अनि आत्माको रूपमा रहँदा एउटा परमात्माको अस्तित्व स्वीकार गरेको हुन्छ । अझ भनौँ, ब्रह्मको आविष्कार नै एउटा जीवनको गुत्थी सुल्झाउने आधार बनेको हो । ब्रह्म परिवर्तनशील छैन तर ब्रह्मका आधारमा नै जीवले आफूलाई सचेत पाएको छ, ब्रह्मको कमी हुँदैन तर त्यो रूपमा यताउता सरिरहन्छ । परिवर्तनका पछाडि कुनै त्यस्तो अदृश्य तत्वको हात छ जुन शास्वत छ, सनातन छ र उसको कहिल्यै परिवर्तन हुँदैन।

हामी पश्चिमको गुणगान गाउँछौँ तर पश्चिमाहरू कुनै पनि आविष्कार र दर्शनका बारेमा, साहित्यको बारेमा आफूलाई पहिलो नभएको बताउँछन् र पूर्वीय वाङ्मय, अझ संस्कृत वाङ्मयका अघिल्तिर आफ्ना आविष्कार, साहित्य फिका रहेको ठान्छन् । विश्वका सबै सभ्यता जोड्दा पनि हाम्रो सनातन सभ्यता र यसको दर्शन, चिन्तन र ज्ञानका सामुन्ने ज्योतिहीन ठहरिन्छ। यो कुनै गर्व र घमण्ड होइन, यो त पूर्वीय संस्कृतिले जगेर्ना गरेको सभ्यताको प्रतिफल हो ।

पूर्वीय सभ्यतामा जहिले पनि शान्ति शान्ति, वनजंगलको शान्ति, सर्वौषधिले शान्ति गरोस्, वनस्पतिको लागि शान्ति बनोस् र मानजमात्रको लागि शान्ति, सम्पूर्ण प्राणीहरूको शान्ति र ब्रह्माण्डको शान्तिसँग यो हामी बसेको मृत्युलोकसमेत रहेको संसार नै शान्तिमय होस् भन्ने धारणा राखेर प्रत्येक मन्त्रको उच्चारण गरिन्थ्यो। पृथ्वी सबै नै परिवार हो भनिन्छ। माता, पिता, गुरु, अतिथि सबैलाई देवताको रूपमा मानिन्छ भन्ने सभ्यतासँग बाँचेका हामीले अरुबाट खासै सिक्नेभन्दा पनि आफूले अझ बढी समयानुकूल अभ्यास गरेर अरुलाई पथप्रदर्शन गर्नु आवश्यक छ ।

संस्कृत साहित्यमा कमीकमजोरी औंल्याउनेविद्वानहरूले व्यंग्यात्मक शैलीमा भनेका छन्– संस्कृत साहित्यमा वियोगान्त शैली हुँदैन अर्थात् जीवनको हरेक पक्षलाई स्वीकार गर्दा त्यहाँ विषाद, अवरोध, वैमनश्यता र भय हुँदैन । जहाँ मृत्युलाई सगर्व स्वीकार गर्ने परम्परा छ, जहाँ अर्को जन्मका लागि अरुको हितगर्ने परम्परा छ, अरुका लागि मर्ने र आफ्नो सुखको नयाँ नयाँ परिभाषा दिने चलन छ । राजा भर्तृहरिको तीन समयको मनोभावका बारेमा साहित्य सृजना भएको छ जसले वैराग्य शतकलाई बढी नै जोड दिइएको पाइन्छ किनभने गीताले पनि परामर्थको र अदृश्य शक्तिप्रतिको भक्तिभावलाई जोड दिएको छ । करिव ३ हजार वर्षसम्म भारतवर्षमा संस्कृत भाषाको प्रचलन रह्यो । सबैभन्दा बढी प्रचलनमा र भाष्य निर्माणमा महाभारतभित्रको गीतालाई लिइयो ।

विद्वानहरूले लामो बहस र अनुशीलनपछि भन्न थाले – श्रीमद्भगवतगीताको महत्व अपार छ। यो प्रस्थान त्रयमध्ये एक मानिन्छ । मानिसहरूको उद्धारका लागि तीन राजमार्गहरूको अनुभव गरिएको थियो, ती हुन् वैदिक प्रस्थान, दार्शनिक प्रस्थान र स्मार्त प्रस्थान। वैदिक प्रस्थानको प्रमुख आधार भनेको वेद र उपनिषद्हरु हुन् भने दोस्रो प्रस्थानका रूपमा ब्रह्मसूत्रलाई मानिन्छ अनि स्मार्त प्रस्थानका रूपमा गीतालाई लिइन्छ । भनिन्छ, वेद, उपनिषद्मा मन्त्रहरू छन्, ब्रह्मसूत्रमा सूत्रहरू छन् जीवनको लागि भने तेस्रो प्रस्थान गीतामा सूत्र पनि छन्, मन्त्र पनि छन् ।

वेद, उपनिषद् आधिकारिक व्यक्तिहरूका लागि हो, ब्रह्मसूत्र विद्वानहरूका लागि हो भने गीता सबैका लागि हो, सबैको हितका लागि रचना गरिएको ग्रन्थ हो । त्यसो त गीताका श्लोकहरू रहस्यमयी भएकाले कसैले यसलाई सूत्र पनि भन्छन्, गीतामा उपनिषद्को सार रहेकाले यसलाई उपनिषद्को पनि सरल अर्थ राखिएको ग्रन्थको रूपमा मानिएको हो। गीता कुनै वर्ग, वर्ण, जात, समुदाय, लिङ्ग, देश, भेष, आश्रमका लागि नभएर सबैका लागि साझा सम्पत्ति मानिएको छ र संसारभर यसको अध्ययन गरिन्छ, अध्यापन गराइन्छ र यसका सूत्रबद्ध श्लोकहरूको अर्थ लगाउन असीमित ज्ञानको उपयोग गरिन्छ ।

ins

प्रतिक्रिया