विराटनगरमा दक्षिण एसियाकै ठूलो रथयात्रा

नेपालखोज २०८० भदौ २१ गते ६:३९

विराटनगर । विराटनगरमा आज बिहीबार निकालिने श्री राधाकृष्ण रथयात्रा दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा ह‍ो । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने आजको रथ यात्रा ५५ औँ संस्करणको रथ यात्रा हो । यो रथयात्रा विगत केहि वर्ष देखि कोरोना महामारीका कारण प्रभावित हुँदै आएको थियो ।

अघिल्लो वर्ष निकालिएको रथयात्रा पनि कोरोनाकै कारण प्रभावित भएको थियो । तीन वर्ष अघि परम्परा धान्ने हिसाबले रथयात्राको बिकल्पमा खटयात्रा मात्र निकालिएको थियो । यो रथयात्रामा नेपालबाट मात्र नभई भारतको बिहार, पश्चिम बङ्गाल आदि राज्यबाट समेत भक्तालुहरु आउने गरेका छन् ।

यस पटक स्थिति सहज भएकाले श्रद्धालु भक्तजनको सहभागिता बढ्ने मन्दिर समितिका सदस्य कृष्ण कार्कीले बताउँछन । रथयात्राको व्यवस्थापकीय कार्यहरू पुरा गरि रथको शृङ्गार कार्य समेत सम्पन्न गरिएको बताइन्छ । बिराटनगरको वडा नम्बर -१ पनीटंकिस्थित मन्दिर परिसरबाट प्रारम्भ हुने य‍ो रथयात्रा बिहीबार दिउँसो ३ बजे सुरु हुनेछ ।

रथयात्रा मेनरोड सहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दुरी तय गरी पुनः मन्दिरमा पुगेर विसर्जन हुनेछ । यात्राका क्रममा रथलाई ४३ स्थानमा रोकिने बताइएको छ । यो रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिएको छ । रथयात्राका दिन यस पटक पनि विराटनगरमा सार्वजनिक बिदा दिइएको छ ।

प्रतिक्रिया