सोमबार, वैशाख १७, २०८१

फोनपे र एनआइपिएलले सुरू गर्‍यो नेपाल-भारतबीच क्रस बोर्डर क्युआर भुक्तानी सेवा

नेपालखोज २०८० भदौ २१ गते १७:२९

काठमाडौं । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपिसिआई) को अन्तर्राष्ट्रिय शाखा एनआइपिएलबीच सम्झौता भएको छ।

सम्झौताअनुसार नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्युआर भुक्तानी सेवा सुरू गर्न दुई कम्पनी तयार भएको हो।

यो ऐतिहासिक साझेदारीको सुरुवात ‘ग्लोबल फिन्टेक फेस्ट २०२३’ मा भएको हो। उक्त फेस्टमा हरेक वर्ष फिन्टेक दूरदर्शीहरू र नवप्रवर्तकहरूको विश्वव्यापी भेटघाट हुने गर्छ।

फोनपे र एनआइपिएलबीचको सहकार्यसँगै नेपाल र भारतका नागरिकहरूलाई यी दुई नेटवर्कमा आवद्ध मोबाइल एप प्रयोग गरेर पसलहरूमा क्युआर कोड मार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न मदत गर्नेमा कम्पनीहरू विश्वस्त छन्।

उक्त सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको जनाइएको छ। जानकारी अनुसार उनीहरूको प्राविधिक एकीकरण अन्तिम प्रक्रियामा रहेको छ। 

प्राविधिक एकीकरण सकेपछि यी दुई कम्पनीहरू आफ्नो नेटवर्कमा आवद्ध सदस्यहरूलाई सेवा प्रदान गर्न सक्षम हुने छन्। यो सेवाबाट लाखौं उपभोक्ता र व्यापारीहरूले लाभ लिन सक्नेमा दुवै पक्ष सकारात्मक छन्।

दुई कम्पनी बीचको यस रणनैतिक साझेदारीले दुई देशमा डिजिटल भुक्तानी परिवेशमा उल्लेख्य बढावा दिनेमा समेत उनीहरू सकारात्मक छन्। 

फोनपेका सभापति तथा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालका अनुसार यो साझेदारी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण कदम हो।

प्रतिक्रिया