बिहीबार, चैत १५, २०८०

अपराधिको शत्रु सिसिटिभी फुटेज

नेपालखोज २०७९ पुष २५ गते ६:५१

काठमाडाैं । सडक तथा विभिन्न क्षेत्रमा राखिएका सिसिटिभी घटना, दुर्घटना तथा आपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोगी बन्दै आएको छ ।

यति महत्त्वपूर्ण भएर पनि अझै नेपालका सडक तथा संवेदनशील क्षेत्रहरूमा पर्याप्त मात्रामा सिसिटिभी जडान गर्न सकिएको छैन । नेपाल प्रहरीको अभिलेखले पनि धेरै घटना सिसिटिभी को श्रव्य दृश्यकै आधारमा अनुसन्धान गरी निष्कर्षमा पुगिएको र कारबाही भएका छन् ।

समाजमा शान्तिसुरक्षा कायम गर्न, सवारी दुर्घटना न्यूनीकरण तथा दुर्घटना भएमा उक्त घटनामा संलग्नलाई पहिचान तथा कारबाही गर्न, चोरी, डकैतीलगायतका आपराधिक क्रियाकलापलाई न्यूनीकरण तथा नियन्त्रण गर्दै प्रहरी परिचालनलाई सहज र प्रभावकारी बनाउन सिसिटिभी प्रभावकारी रहेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राई बताउँछन् । उनले प्रमाण बेसमा काम हुने भएकाले सिसी क्यामेरा महत्त्वपूर्ण रहने र अझै धेरै ठाउँमा आवश्यक भएको बताए ।

गत साउन २४ गते दिउँसो काठमाडौँ लाजिम्पाटमा होम ट्युसन पढ्न गएकी १८ वर्षीया किशोरी साँझसम्म कोठामा फर्किनन् । साँझ प्रहरीकहाँ जानकारी पुगेपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालयको सिसिटिभी फुटेजका आधारमा उनी चढेको ट्याक्सी र किशोरी झरेको स्थान पत्ता लाग्यो । चालक फेला पारी सोधपुछ गरेपछि प्रहरीले किशोरीलाई फेला पार्न सफल भयो ।

काठमाडौँको पुतलीसडकस्थित सेन्चुरी बैंकबाट पैसा निकाली फर्किने क्रममा एक महिलाको रु ५० हजार हरायो । त्यहाँको सिसिटिभी परीक्षण गर्दा एकजना मोटरसाइकल चालकले टिपेको फेला पारेपछि उक्त रकम पनि फिर्ता गराउन प्रहरी सफल भयो ।

यी दुईवटा प्रतिनिधि घटना हो । यस्तै र अन्य आपराधिक घटना तथा दुर्घटनाको सफल अनुसन्धानमा सिसिटिभी क्यामेराको फुटेज महत्त्वपूर्ण सहयोग बन्दै आएको छ । त्यति मात्रै होइन दैनिक ट्राफिक चापको व्यवस्थापनका साथै विभिन्न समयमा राजनीतिक दल वा अन्य समूहले गर्ने जुलुस, सभा र सम्मेलनमा अवाञ्छित गतिविधि गर्नेहरूलाई पक्राउ गर्न समेत सिसिटिभी प्रभावकारी बनेको प्रहरी प्रवक्ता राई बताउँछन् ।

नेपाल प्रहरीले आफ्नै अप्टिकल फाइबर प्रयोग गरी २०६३ सालमा ११ वटा क्यामेरामार्फत गतिविधि नियन्त्रण सुरु गरेको थियो । हाल काठमाडौँ उपत्यकामा मात्रै तीन हजार दुई सय ३१ क्यामेराहरू सञ्चालित छ । प्रहरीले यो सङ्ख्या बर्सेनि बढाउँदै लगिरहेको छ । तर अझै पर्याप्त छैन । हाल नेपालभर १० हजार एक सय ३२ सिसी क्यामरा जडान भएकामा सात हजार चार सय २८ चालू अवस्थामा रहेका छन् ।

गत आर्थिक वर्ष ०७८/०७९ मा सिसिटिभी फुटेजका आधारमा सात सय ८२ र चालु आवमा दुई सय ६८ वटा घटनाको सफल अनुसन्धान भएको प्रहरीको अभिलेखमा उल्लेख छ । आव ०७८/०७९ मा उपलब्ध गराइएका फुटेजकै आधारमा ट्राफिक नियम उल्लङ्घन गरी फरार सात हजार चार सय सात, ट्राफिक लेन/फिल्ड अनुशासनअन्तर्गत तीन हजार आठ सय ४० जना कारबाहीमा परेका थिए ।

चालु आवको मङ्सिर मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गरी फरार रहेका तीन हजार नौ सय ८७, ट्राफिक लेन÷फिल्ड अनुशासन कारबाही एक हजार आठ सय ५७ जनालाई सिसिटिभी कै आधारमा पहिचान गरी कारबाही गरिएको प्रहरीले जनाएको छ । कुनै पनि सवारी दुर्घटना वा घटनापश्चात् पीडितले सिसिटिभी फुटेजका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा निवेदन दिने व्यवस्था गरिएको छ ।

निवेदन प्राप्तपश्चात् सम्बन्धित प्रहरी कार्यालयहरूले सिसिटिभी फुटेज प्राप्तिका लागि कारणसहित काठमाडौँ उपत्यका प्रहरी कार्यालयमा अनुरोध गरेपश्चात् मात्र उक्त कार्यालयले घटना अनुसन्धान प्रयोजनार्थ फुटेज उपलब्ध गराउँछ ।

प्रतिक्रिया