गन्धर्व पेसा : रहरभन्दा बाध्यता

नेपालखोज २०८० भदौ २३ गते १९:५७

कर्मसँग दिक्दारै परियो
रुँदारुँदै पोखरी भरियो

उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए ।

विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष पहिले सारङ्गी रेटेर परिवार पाल्न मुस्किल भएपछि रोजगारीका लागि विदेश गए ।

भारत पुगेर केही वर्ष सुरक्षागार्डको जागिर गरेपछि विष्णुका छोरा कमाउन सक्ने भएपछि विष्णु पुख्र्यौली पेसामै फर्किए । पछिल्लो दुई वर्षदेखि विष्णु पुनः सारङ्गी रेट्दै छन् ।

हिमाल चुच्चे टाकुरीमा सुन मेरो घर
खेती किसान केही छैन, सारङ्गीको भर

सारङ्गीको धुनसँगै गीत मिसाएर विष्णुले आफ्नो बाध्यता बोल्छन् । ‘गरेर खाने जग्गा जमिन छैन, पेसा व्यवसाय गर्नलाई पुँजी छैन, रोजगार गर्नलाई शिक्षा छैन, सीप छैन’, उनले भने, ‘सारङ्गी रेट्नु, गीत गाउनु उहाँको रहर माध्य होइन, बाध्यता हो ।’

सारङ्गी रेट्ने र गीत गाउने कला विष्णुका लागि ‘बाजे र बा’ ले छाडेर गएको पुख्यौँली सम्पत्ति हो । बाउ बाजेले सिकाएको सीपले १० वर्ष पहिलेसम्म विष्णुले आफ्नो परिवार सजिलै पाल्थे । मङ्सिरमा मुरीका मुरी धान उठ्थ्यो, मौसमअनुसार प्रत्येक घरका इष्टले दुई-चार झोता मकै दिन्थे, माघमा कोदो, जेठ असारमा गहुँ, लाहुरे आउँदा कपडा र कम्मल उठाएर विष्णुको परिवार चल्थ्यो । तर, आजभोलि पहिलेजस्तो आम्दानी नभएको विष्णुको भनाइ छ ।

एउटा घरबाट एक मुठी चामल र २० पनि मुस्किलले मिल्ने गरेको बताउँदै उनले आफूले जस्तो दुःख भावी पुस्ताले गर्न नपरोस् भन्ने कामना गर्छन् । सरकारले आफूजस्तै गन्धर्व र उनीहरुका परिवारको संरक्षणको लागि चासो नदिएको उनको भनाइ छ । स्थानीय जनप्रतिनिधिले आफ्नो समुदाय, कला र कलाकार बचाउनका लागि केही पनि नगरेको उ्नको गुनासो छ ।

‘हाम्रो त समुदाय नै लोप हुन थाल्यो, पेसा व्यवसाय सङ्कटमा पर्याे, अन्य पेसा आउँदैन, रोजगार गर्न शिक्षा दीक्षा छैन भनेर लिखितरुपमै वडा कार्यालयमा निवेदन लिएर गएका हौँ’, विष्णुले भने, ‘हामी, हाम्रो समुदाय र हाम्रो कला संस्कृतिको संरक्षणका लागि जनप्रतिनिधिले चासो दिएनन् ।’

विष्णुले सारङ्गी रेट्ने मात्र होइन, सारङ्गी बनाउनु पनि हुन्छ । पाँच दिन लगाएर खिर्राको काठबाट बनाइएको एउटा सारङ्गी रु २३ हजारमा बिक्री गर्छन् । तर, नयाँ पुस्तामा पेसाप्रतिको घट्दो आकर्षणले सीप भए पनि मारेर बस्नुपरेको उनको दुखेसो छ ।

प्रतिक्रिया