सोमबार, वैशाख १७, २०८१

प्रेमिकाले अरूसँगै विवाह गरेपछि…

नेपालखोज २०७८ पुष २ गते १०:५९

काठमाडौं । रतन टाटा भारतमा मात्रै नभई विश्वमै धनी व्यक्तिको सूचीमा पर्ने व्यक्ति हुन् । भारतमा मात्रै नभई उनी विश्वमै धनी व्यक्तिका रुपमा चिनिन्छन् । उनी २२ वर्षसम्म भारतको सवैभन्दा ठूलो टाटा कम्पनीको अध्यक्ष पनि थिए ।

उनी सन् १९९१ मा टाटा ग्रुपबाट रिटायर भएका थिए । उनले अध्यक्षमा रहेर रतन कम्पनीलाई अथाह रुपैयाँ कमाउने कम्पनीका रुपमा विश्वमा चिनाए । उनी सन् १९९१ देखि २०१२ सम्म टाटा समूहको अध्यक्ष बनेका थिए । फेरि २०१६ मा अर्कोपटक अध्यक्ष बनेर २०१७ मा रिटायरमेन्ट लिएका थिए । उनले ४० वर्षको कार्यकालमा आफ्नो कम्पनीमा राजस्वको दर ४० गुणाले बढाए ।

नाफा ५० गुणा बढाएका थिए । यसबाट उनी कतिसम्म दक्ष व्यवसायी थिए भन्ने प्रस्ट हुन्छ । आजसम्म टाटा ब्रान्डको नाम रहनुमा ४० वर्षसम्म रतनले गरेको योगदानलाई मानिन्छ । आफूले कार्यभार सम्हालेका बेला नयाँनयाँ कम्पनी पनि खोल्न सफल भएका थिए । जसको फलस्वरुप उनको सम्पति अथाह हुँदै गएको थियो । टाटा कम्पनीमा उनले अध्यक्षको रुपमा रहेर उद्योग-व्यापार गर्दा टेट्ली, जगुवार, ल्यान्ड रोभर र कोरसजस्ता ठूलाठूला विदेशी कम्पनी किनेका थिए ।

खर्बौंका मालिक उनको भौतिक सुख-सुविधा जोकोहीको कल्पनाभन्दा माथिको थियो । यस्तै अथाह सम्पत्ति पनि सामान्य पुँजीपतिलाई पनि आश्चर्य लाग्ने थियो । तर उनी जति धनी थिए, घमण्ड कहिल्यै लिएनन् । देशका नागरिकलाई पनि भुलेनन् । भारत देशलाई हरदम आँखामा राखे ।

देशका गरिब वर्गका मानिसलाई बेलाबेला सहयोग गरे । जब देशमा सर्वसाधारणलाई कुनै समस्या पर्थ्यो भने सरकारको ध्यान जानुअघि आफ्नै हातले राहत दिइसकेका हुन्थे । उनको मानवीय सेवा गर्ने स्वभाव सबै भारतवासीले सम्झिएका छन् । उनी विश्वका प्रतिष्ठित व्यापारीसँगै समाजसेवी पनि थिए ।

रतनले समाजसेवामा खेलेको भूमिका स्वरुप सन् २००० मा भारतको प्रसिद्ध पद्मभूषण पुरस्कार र सन् २००८ मा विभूषणको अवार्डबाट सरकारले सम्मान गरेको थियो । रतन टाटाको जन्म २८ डिसेम्बर १९३७ मा भारतको मुम्बई सहरमा भएको थियो ।

उनको पिताको नाम नवल होर्मुसरी टाटा थियो । रतनले ८ कक्षासम्मको पढाइ मुम्बईको कम्पानियन विद्यालयबाट पूरा गरेका थिए । त्यसपछि मुम्बईको क्याथड्रल एन्ड जोन कोनल विद्यालयमा पढ्न सुरु गरे ।

सन् १९४८ मा रतनका मातापिताको सम्बन्धविच्छेद भएको थियो । बाबुआमाले सम्बन्धविच्छेद गर्दा उनको उमेर १० वर्ष मात्रै थियो । पछि उनका पिताले सिमन नामकी एक युवतीसँग विवाह गरेका थिए । दोस्रो विवाहबाट उनका पिताको एक छोरा भए । उनको नाम भने नोयल टाटा थियो ।

१० वर्षको उमेर हुँदा बुबाआमाले सम्बन्धविच्छेद गरेपछि उनी मानसिक रुपमा हैरानी भएका थिए । बाबुले अर्को विवाह गरेपछि उनको लालनपालन हजुरआमाले गरेकी थिइन् । रतन र उनका सौतेने भाइ नोयल टाटाले पनि आफ्नी हजुरआमाबाट लालनपालन पाए ।

रतन जन्मिएदेखि नै आफ्नी हजुरआमाकै नजिकमा रहे, त्यसैले हजुरआमालाई बढी सम्मान गर्थे । हजुरआमा नै रतनका लागि बुबाआमा बनेकी थिइन् । हजुरआमाले लालनपालन, शिक्षादिक्षा सबै नातिलाई दिइन् । आमाबुबाको कमीको महसुस हुन दिइनन् । मुम्बईमा विद्यालय तह सकेपछि रतन टाटा उच्च शिक्षा पढ्नका लागि अमेरिका गए ।

अमेरिकामा रिभरडेल कन्ट्री स्कुलबाट १२ कक्षासम्म पढे । यसपछि न्युयोर्कको कार्नेल विश्वविद्यालयमा पढे । सन् १९९५ मा यही विश्वविद्यालयबाट उनले आर्किटेक्टरको फिल्डमा डिग्री हासिल गरे ।

केही समय अमेरिका बसेर उनी सन् १९६२ मा भारत फर्किए । अमेरिकाको पढाइ सकेर भारत फर्किपछि उनले एकपछि अर्को सफल व्यवसायी हुँदै सम्पत्ति कमाए । जीवनमा ठूलाठूला उपलब्धि हासिल गरे । तर जिन्दगीको ठूलो रहस्य रतनले जीवनमा विवाह भने गरेनन् । शुभेच्छुक, साथीभाइ र आफन्तले सल्लाह दिँदा पनि उनले विवाह गरेनन् । विवाह नगर्ने अडान लिए ।

१२ फेब्रुअरी, २०२० मा रतन ह्म्यान्स अफ मुम्बई नामको एक टेलिभिजनमा अन्तर्वार्ता दिए । उनलाई अन्तर्वार्तामा विवाह नगरी एक्लो जीवन बस्नुको उद्देश्य सम्बन्धमा सोधिएको थियो । अमेरिकाको कार्नेल युनिभर्सिटीबाट आर्किटेक्चरमा डिग्री हासिल गरेपछि उनले लस एन्जलस सहरमा केही वर्ष जागिर खाएका थिए ।

दुईवर्षे जागिरे जीवनका क्रममा लस एन्जलसकी एक स्थानीय युवतीसँग उनको प्रेम सम्बन्ध सु्रु भएको थियो । उनी लस एन्जलसमा बिताएका दुई वर्षलाई जीवनका अविस्मरणीय पहलका रुपमा लिने गर्छन् । उनी भन्छन्, ‘उसवेला लस एन्जलस सहरको मौसम एकदमै राम्रो थियो ।’

उनीसँग आफ्नो कार र एक जागिर थियो, त्यो उनलाई खुबै मन परेको थियो । यसका साथै एक युवतीसँग प्रेममा डुबेका उनलाई संसारै लस एन्जलस लाग्थ्यो । ती युवती पनि रतनलाई धेरै माया गर्थिन् ।

उनले त्यो समयमा ती युवतीसँग विवाह गर्ने सोच बनाएका थिए । तर उनीहरूबीचको प्रेमलाई अन्त्य गर्न आफन्तै दुश्मन बने । जब रतनले युवतीसँग विवाह गर्ने सोच बनाएका थिए, उनकी हजुरआमाको स्वास्थ्य अवस्था जटिल भएको खबर पुग्यो । उनी हजुरआमालाई अति नै माया गर्थे । ७ वर्षदेखि हजुरआमालाई पनि भेटेका थिएनन् ।

उनले प्रेमिकालाई छोडेर भारतमा हजुरआमालाई भेट्ने सोच बनाए । रतनले प्रेमिकालाई आफ्ना साथ भारत जान भने । उनले भारत पुगेर विवाह गर्ने प्रेमिकालाई बताएका पनि थिए । युवती रतनसँग भारतमा जान तयार थिइन् । तर युवतीका बुबाआमाले भारत जान दिएनन् । यो घटना सन् १९६२ को हो ।

रतन टाटा भारत फर्किने बेलामा चीन र भारतबीच युद्ध पनि चलिरहेको थियो । यही युद्धमा खतरा हुने सोचेर युवतीका बाबुआमाले भारत जान रोक लगाएका थिए । युवतीले युद्ध सकिएपछि रतनका साथ भारत आउने बताएकी थिइन् ।

यही भरोसामा रतन हजुरआमालाई भेट्न भारत फर्किए । भारत आएपछि रतनले अमेरिकी युवती आउने दिन गनेर बसे । रतनलाई पूरा विश्वास थियो कि प्रेमिका आफूसँग आउनेछिन् ।

फेसबुकलगायत सञ्चारको भरपूर सुविधा नभएको त्यो समयमा रतनले आफ्नी प्रेमिका आउनेछिन् भनेर धेरै वर्ष पर्खिए । अन्ततः रतनले ती युवतीको विवाह आमाबाबुले अर्कै व्यक्तिसँग गराएको भन्ने खबर सुने । उनको मनमा धेरै नै पीर भयो । चिन्ताले धेरै दिन खाना खाएनन् । वास्तवमा रतनले साँच्चो मनले ती महिलासँग प्रेम गरेका थिए । दुवैजनाले विवाह गर्ने कसम पनि खाएका थिए ।

तर आफ्नी प्रेमिकाले अर्कैसँग विवाह गरेपछि रतनको मन कुँडियो । उनलाई जीवनमा विवाह गर्न मन भएन । आफ्नो मन पर्ने मान्छे नै नपाएपछि विवाह गर्ने सोच दिमागबाट हटेको केही भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

प्रतिक्रिया