शनिबार, जेठ ३२, २०८२

अलैँचीको मूल्यवृद्धिले किसान उत्साहित

नेपालखोज २०८० भदौ २४ गते ८:०५

फुङ्लिङ (ताप्लेजुङ) । गत वर्षभन्दा यस वर्ष दोब्बर बढी मूल्यमा अलैँचीको कारोबार हुन थालेको छ । अलैँचीको नयाँ फसल (उत्पादन) बजारमा आउन थालेसँगै गत वर्षभन्दा दोब्बर बढी मूल्यमा कारोबार हुन थालेको हो ।

बजारमा आउन थालेसँगै नयाँ अलैँचीले उचित मूल्य पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् । सदरमुकाम फुङ्लिङ बजारमा हिजोआज नयाँ अलैँची प्रतिमन (४० किलोग्राम) ५६ हजारसम्ममा कारोबार भइरहेको छ । भदौको पहिलो सातापछि बजारमा आउन थालेको अलैँचीको मूल्य गत वर्षको तुलनामा दोब्बर रहेको स्थानीय व्यापारीले बताएका छन् ।

अलैँची व्यवसायी सङ्घ ताप्लेजुङका अध्यक्षसमेत रहेका स्थानीय व्यापारी भद्रवीर रेग्मीले नयाँ अलैँची प्रतिमन रु ५५ हजारदेखि ५६ हजारसम्ममा कारोबार भइरहेको बताए । रेग्मीका अनुसार गत वर्ष यही मौसममा अर्थात् नयाँ अलैँची बजारमा आउन थाल्दा प्रतिमन २४ हजारदेखि २७ हजार मात्र मूल्य थियो । उनले मूल्य अस्थिर रहे पनि स्थानीय बजारमा अहिले अलैँचीले उचित मूल्य पाइरहेको बताए ।

अलैँची व्यापारी दिनेश अधिकारीका अनुसार एक साताअघि नयाँ अलैँची प्रतिमन ६० हजारमा कारोबार भएको थियो । त्यसपछि तीन दिनअघि प्रतिमन ५७ हजारमा कारोबार भएको अलैँची शुक्रबार भने ५६ हजारमा कारोबार भएको उनले जानकारी दिए ।

प्रतिक्रिया