आइतबार, फागुन १३, २०८०

सम्पर्कमा आएनन् एक सय बालगृह

नेपालखोज २०८० भदौ २७ गते ९:४५

काठमाडौं । राष्ट्रिय बाल परिषद्ले बालगृह सञ्चालन अनुमतिपत्र वितरण प्रक्रियामा करिब एक सय बालगृह सम्पर्कमा नआएको जनाएको छ । परिषद्का सूचना अधिकारी रामचन्द्र चन्द्रले असार मसान्तसम्म चार सय १७ बालगृह सञ्चालनमा रहेकोमा बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम अनुमतिपत्र वितरण प्रक्रियामा करिब एक सय बालगृह सम्पर्कमा नआएको बताए ।

‘अनुमतिपत्र प्रदान गर्ने प्रक्रियामा एकरडेढ सय बालगृह अनुमतिपत्र प्राप्त गर्ने म्याद सकिएपश्चात पनि सम्पर्कमा आएको तर सञ्चालनमा रहेका एक सय बालगृह अझै सम्पर्कमा आएका छैनन्’, उनले भने । परिषद्ले बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ मा भएको व्यवस्थाबमोजिम सञ्चालनमा रहेका बालगृहलाई अनुमतिपत्र प्राप्त गर्न योग्य संस्थालाई निवेदन दिन राजपत्रमा सूचना प्रकाशन गरेको थियो । विभिन्न गैरसरकारी संस्थाले सञ्चालनमा ल्याएका बालगृह पहिला अनुमति बिना चलाउँदै आए पनि अब कानूनी व्यवस्थाअनुसार अनुमतिपत्र लिएर मात्र सञ्चालन गर्न सकिने परिषद्का सूचना अधिकारी चन्द्रले बताए ।

‘अनुमतिपत्रबिना बालगृह लामो समयसम्म चल्न सक्दैनन् । सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त नगरेका बालगृहलाई नवीकरणमा रोक्का गर्न जिल्लाप्रशासनमा परिपत्र गराउनुपर्दछ’, उनले भने । कानूनी व्यवस्थाअनुसार एक वर्षभित्र अनुमतिपत्र प्राप्त गर्नुपर्ने प्रावधान रहे तापनि पूर्ण अभ्यास हुन नसकेको उनले बताए ।

प्रतिक्रिया