शुक्रबार, जेठ ४, २०८१

जनसेवा हलको आगलागी

सुनिल उलक २०८० भदौ २७ गते १८:४१

काठमाडौं । यो तस्विर बि‍‍.सं. २०१५ तिर खिचिएको हो । देखिएको सडक अहिलेको न्यूरोड अर्थात जुद्धसडक । बाँया तर्फको सडक अहिलेको शुक्रपथ हो । तस्विर भूगोल पार्कको पृथ्वीसंगै बसेर खिचिएको छ ।

ठिक सामुन्ने शिखर शैलीमा बनेको मन्दिर महालक्ष्मीको मन्दिर हो । मन्दिर अहिले पनि बिशाल बजारमा रहेको श्री गणपती ज्वेलर्सको संगै देख्न सकिन्छ । महालक्ष्मीको मन्दिरसंगै देखिएको भवन नै त्यो बेलाको चर्चित तथा नेपालको पहिलो सिनेमा हल जनसेवा हल हो ।

बि.सं. २०१८ साल भदौ २५ गते जनसेवा हलमा ‘मिशन अफ डेन्जर’ फिल्म लागिरहेको थियो । बेलुकाको समय सिनेमा हलका मालिक्नी ह्वाङलामु नयासडकको छेवैमा उभिरहेका थिए । अचानक कोही भाग्दै आउदा अमात्यलाई धक्का लाग्दा उनि सडकमै लडे । ति धक्का दिने ब्यक्ति कृष्णमान नाम गरेका ब्यक्ति सडकमा आएको गाडीबाट जोगिएर भाग्दा ठक्कर लागेको भन्दै माफी मागे पनि सिनेमाहलका कर्मचारी मिलेर उनलाई पिटेछ । तर पछि कृष्णमान उम्केर भाग्न सफल भए ।

केहि बेरमा फिल्म छुटेर सबै निस्कदै गर्दा तिनै कृष्णमानले बिना कारण पिटाइ खानुपरेको भन्दै आफ्नो टोलका एक हुल मानिसहरु लिएर आएर सिनेमा हलको पर्खालका इट्टा उखेल्दै हल तर्फ हिर्काउन थालेछ । स्थिती असमान्य भए पछि रातीको फिल्म बन्द गराइ हलका मालिकले पुलिस बोलाए ।

पुलिसले स्थिती नियन्त्रणमा लिन लाठीचार्ज गरे र केही शान्त भए पछि त्यस क्षेत्रमा कर्फ्यू लगाइयो । भोली पल्ट पुलिसले केही कर्मचारी र हल मालिक्नीको साथ हुलदंगा गराउने भन्दै केहीलाई समाए पछि स्थिती झन असमान्य भयो । जसले गर्दा प्रशासनले २६ र २७ दुबै दिन कर्फ्यू लगाउन बाध्य भयो ।

२०१८ साल भदौ २७ गते साँझ उच्छृंखल केही युवाहरु हलमा प्रबेश गर्न सफल भयो । ति २०-२५ जना केटाहरुले हलको कुर्चीहरु भाँचेर मट्टितेल छर्केर आगो लगाइ भाग्न सफल भयो । हलमा भयानक आगो लाग्न थाल्यो । नजिकैको रहेको दमकल पनि आगो निभाउन आएन भन्ने गुनासो गरिएको थियो । सिनेमा हल जल्दै गर्दा सो आगोको असर अन्य घरमा पर्ने सम्भावना भए पछि मात्र दमकल आएको भन्ने गुनासो थियो ।

बिदेश भ्रमणमा रहेका राजा महेन्द्र स्वदेश फर्केपछि जाँचबुझ आयोग गठन भए पनि आगो लगाउनेलाई प्रशासनले खोजबिन गरेन । त्यसबेलका प्रहरी प्रमुख एसपी नरनारायण शम्शेर पदमुक्त भए । दयाराम भक्त माथेमा पनि राजपरिषदबाट हटाइयो ।

हलका मालिक दयाराम भक्त माथेमा राजपरिषदका सचिव भएका कारणले पनि यो आगलागी आबेशमा नभएर राजनैतिक प्रतिशोधले भएको भन्ने त्यो बेला धेरैको बुझाइ थियो ।

यसरी नेपालको पहिलो सिनेमा हल मात्र आगोले जलेर खरानी भएन । इतिहासबाटै सदाको लागी मेटियो । जलेको हललाई दयाराम भक्त माथेमाले पूनर्निर्माण गर्न चाहेनन् । त्यो जमिन धेरै समय खाली रह्यो । पछि साना टहराहरु बने । २०२५ सालमा बिशाल बजार कम्पनीको स्थापना भएपछि यसै स्थानमा बिशाल बजार बन्यो ।

आगलागीको घटनाचक्र – राजाराम फुँयालको ‘नेपाली चलचित्र इतिहास’ बाट लिइएको हो भने तस्विर देवीबहादुर कायस्थ द्वारा खिचिएको हो ।

प्रतिक्रिया