शनिबार, जेठ ५, २०८१

पाकिस्तानलाई २ विकेटले हराउँदै श्रीलंका एसिया कपको फाइनलमा

नेपालखोज २०८० भदौ २९ गते ७:५५

काठमाडौं । एसिया कप क्रिकेटको उपाधिका लागि भारत र श्रीलंका भिड्ने भएका छन् । सुपर फोरको बिहीबार भएको खेलमा पाकिस्तानलाई २ विकेटले पराजित गर्दै श्रीलंकाले फाइनलमा स्थान पक्का गर्‍यो ।

श्रीलंकाले ४२ ओभरमा २५२ रन बनाउनुपर्ने लक्ष्य पाएको थियो । उसले अन्तिम बलमा २ रन जोड्दै लक्ष्य पूरा गरेको हो । श्रीलंकालाई अन्तिम ओभरमा ८ रन आवश्यक रहेका बेला सुरूका चार बलमा २ रन लिएर एक विकेट गुमाएको थियो । पाँचौं बलमा असालान्काले चौका प्रहार गर्दैं जितको सम्भावना कायमै राखेका थिए । अन्तिम बलमा पनि उनले दुई रन लिए ।

श्रीलंकाको पालीम कुसल मेन्डिसले ९१, चरिथ असालान्काले अविजित ४९ र सदीरा समराविक्रमाले ४८ रन बनाए । त्यसअघि पाकिस्तानको पालीमा मोहम्मद रिजवानले ८६, अब्दुल्लाह सफिकले ५२ र इफ्तिखर अहमदले ४७ रन बनाएका थिए । सुपर फोरमा दुवै टोलीले बंगलादेशलाई हराएका थिए भने भारतसँग पराजय ब्यहोरेका थिए ।

सुरुका दुई खेलमा जित हात पार्दै भारत यसअघि नै फाइनल पुगिसकेको छ । श्रीलंका समग्रमा ११औँ पटक एसिया कपको फाइनलमा पुगेको हो । यो प्रतियोगिता भारतले ७ र श्रीलंकाले ६ पटक जितेका छन् ।

प्रतिक्रिया