आज स्व. सहाना प्रधानको स्मृती दिवश

असोज ६, २०७१ मा स्वर्गारोहण भएकी स्व. सहाना प्रधानको नेपालका कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग विवाह भएको थियो । उनको राजनैतिक भूमिका आफ्नो ठाउँमा छ नै तर म यहाँ उनको शैक्षिक योगदानको रूपमा सम्झन्छु । पोखरामा रहेको पृथ्वीनारायण कलेजमा सुरुवाती समयमा शिक्षिकाको रूपमा सेवा गरेकी थिइन् ।
स्वर्गीय सहाना प्रधानको जन्म काठमाडौंको पुरानो बस्ति असनमा भएको थियो । सानै उमेरमा आमाको देहावसान भएपछि बुबाका साथ बर्मामा पुगेकी थिइन । बाल्यकालका अधिकांश समय बर्मामा नै बिताइन । १३-१४ वर्षको उमेर पुग्दा बर्मामा जापानी आक्रमण हुने थालेपछि एक किसिमको त्रास शुरु भयो । बुबाको स्वदेश नै फर्कने निधो भएपछि दाजुभाइ तथा दिदीका साथ सहाना पनि बर्माबाट काठमाडौ यात्रामा निस्किइन । निकै दुखकष्ट झेल्दै वि.सं. २००० मा सहानाको परिवार काठमाडौं आइपुगेका थिए । यस बिच बाटोमा दाजु गौरीभक्त प्रधान नराम्रोसंग विमार समेत भएका थिए ।
दाजुभाइलाई काठमाडौं पुगेको केही समयमा नै दरवार हाइस्कुलमा भर्ना गरिए पनि दिदीबहिनीलाई भने पढ्न अनुमति दिइएको थिएन । पछि बल्ल भर्ना हुन पाइन । ढिलो भर्ना भए पनि २००४ सालमा एसएलसी उतिर्ण गर्न सफल भइन ।
राणाविरोधी आन्दोलनमा लाग्दा लाग्दै राजनीतिमा निकट सम्वन्ध भएको पुष्पलाल श्रेष्ठसंग नै २०१० सालमा विवाह भयो । पुष्पलाल सहिद गंगालाल श्रेष्ठका माहिला भाइ हुनुहुन्थ्यो । विवाह पछि अधिकांश महिलाहरु आफ्नो जन्म घरको सम्झना गराउने माइतको थर परिवर्तन गरेर पतिको थर राख्न थाल्दछन् । तर सहानाले यो विद्रोहको शुरुवात गरेर पतिको थर नराख्ने निधो गरेकी थिइन् । र आजन्म सहाना प्रधानका रुपमा नै सबै सामु परिचित भइ रहिन् ।
दिदी साधना प्रधानले पनि मनमोहन अधिकारीसंग विवाह गरे पनि साधना अधिकारीका रुपमा परिचय दिइनन् । आजन्म साधना प्रधान नै बनिरहिन् । हामी कहाँ अचेल पनि महिलाहरु विवाह भएर नयाँ घर पुगेको दिनमा नै आफ्नो अस्तित्व हराए झै पतिको थर राख्न शुरु गर्ने गर्दछन् । सबैभन्दा पहिले सामाजिक सञ्जालमा रहेको आफ्नो नामको पछाडि थर परिवर्तन गर्ने गर्दछन् । म यसको पक्षमा छैन । जन्मघरको अस्तित्वलाई आफ्नो साथ बोकिरहनु पर्दछ ।
दिदी साधना प्रधान नेपालको पहिलो निर्वाचित जनप्रतिनिधि पनि भएकी थिइन् । २०१० सालमा भएको काठमाडौ नगर पालिकाको चुनावमा वडा नं ८ बाट विजयी भएर पहिलो महिला जनप्रतिनिधि बन्ने सौभाग्य प्राप्त गरेकी थिइन् ।
सहाना प्रधानले लखनउमा पढाइ पुरा नगरि फर्केर काठमाडौंमा आइ २००७ सालमा कन्या मन्दिर, शान्ति निकुञ्ज तथा सीताराम हाइस्कूलमा पढाएकी थिइन् । २०१० सालमा विवाह पछि शिक्षण पेशा छुटे पनि परिवार प्रतिको दायित्वबाट टाढिइनन् । जसले गर्दा पतिको राजनैतिक जीवनमा सघाए पनि आफू राजनीतिमा आइनन् ।
यहिबिच २०१७ सालको राजनैतिक परिवर्तन पछि पति पुष्पलाल निर्वासित जीवन बिताउन बाध्य भए पछि उनले परिवारको दायित्वको लागि शिक्षण पेशा फेरी अंगालिन् । यहि क्रममा २०१९ सालमा केही समय पोखरामा रहेको पृथ्वीनारायण कलेजमा पढाकी थिइन् । पोखरा पछि वहाँ पद्मकन्या कलेज, त्रिचन्द्र कलेज तथा त्रिभुवन विश्वविद्यालयमा समेत पढाइन् ।
प्रतिक्रिया