कानुनविपरीत पुरातात्विक सम्पदास्थलभित्र पक्की संरचना बनाउँदै लुम्बिनी विकास कोष

लुम्बिनी । पुरातात्विक महत्व बोकेको लुम्बिनीस्थित मायादेवी मन्दिर र कपिलवस्तुको कुदान क्षेत्रमा लुम्बिनी विकास कोषले अवैध ढंगबाट संरचना निर्माणकार्य अघि बढाएको छ। पुरातत्व विभागको अनुमतिबिना नै कोषले पक्की (आरसिसी) संरचना निर्माणकार्य अघि बढाएको हो।
बुद्ध जन्मस्थलमा दीप बाल्नका लागि टहरा बनाउने निर्णय भएअनुसार मायादेवी मन्दिर परिसरको पूर्वोत्तर कुनामा पक्की संचनामा दीप प्रज्ज्वलनस्थल र कपिलवस्तुको कुदानमा हाल भएको गेटनजिकै भित्रपट्टि कोषले नयाँ गेट निर्माण गरिरहेको छ।
कोषले मायादेवी मन्दिरनजिक दीप बाल्न ३६/१८ फिटको टहरा बनाउँदै गर्दा तल पक्की संरचनाको बिम बनाउन लागिएकामा केही ‘हेभी’ भएकाले निर्माणकार्य रोकिएको कोषका प्रोजेक्ट म्यानेजर तथा इन्जिनियर प्रमुख सरोज भट्टराईले बताए।
इन्जिनियर भट्टराईका अनुसार पुरातात्विक क्षेत्रमा कुनै पनि प्रकारका निर्माणकार्य गर्नुपूर्व विभागको स्वीकृति लिनुपर्छ। तर कुदानमा गेट निर्माणका लागि प्रस्तावित नक्सा विभागले स्वीकृत गरेको छैन। स्वीकृत नगरे पनि पुरानै डिजाइनमा निर्माण भइरहँदा थोरै मात्र उचाइँ घटाउन निर्देशन दिइएको छ।
गेट निर्माण कार्य भक्तपुरको तुलसी कन्स्ट्रक्सन एन्ड कम्पनीले गरिरहेको कोषले जनाएको छ।
कोषको बोर्ड मिटिङले अशोक स्तम्भनजिकै रहेको दीप प्रज्वलन स्थललाई त्यहाँबाट सार्ने निर्णय गरेको थियो। तर त्यसो नगरी मनोमानी ढंगले पक्की संचनामा गरिरहेको निर्माणकार्य प्राचीन स्मारक संरक्षण ऐन २०१३ विपरीत छ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ का अनुसार पुरातात्विक सम्पदा क्षेत्रमा कुनै पनि प्रकारका खन्ने या भौतिक संरचना निर्माण गर्ने कार्यमा पुरातत्व विभागसँग अनिवार्य अनुमति लिनुपर्ने प्रावधान छ। तर यता कोषले यो कानुनी प्रावधानलाई लत्याएको छ।
‘कोषले झारो टार्न स्वीकृति मागपत्र पुरातत्व विभाग काठमाडौंमा पठाए पनि विभागले पुरातात्विक सम्पदा क्षेत्र भएका कारण त्यहाँ पक्की संरचना निर्माण गर्न स्वीकृति दिएको छैन,’ लुम्बिनी लुम्बिनी बचाऊ संघर्ष समितिका उपाध्यक्ष हुसेनी लोधले बताए।
विभागकै स्वीकृति नपाई कोषले मनपरी ढंगबाट पक्की संरचना निर्माण गरेकोप्रति विरोध जनाउँदै प्राचीन तथा पुरातात्विक महत्व बोकेका स्थलवरपर नियमविपरीत जथाभावी गरिने निर्माणकार्य तत्काल रोक्नुपर्ने उपाध्यक्ष लोधको भनाइ छ। ‘बौद्धकालीन इतिहास बोकेको पुरातात्विक क्षेत्रमा कोषको जबर्जस्ती हस्तक्षेप मान्य हुने छैन,’ उनले भने।
शाक्यमुनि बुद्धले ज्ञान प्राप्त गरेपछि पहिलोपटक यसै कुदान क्षेत्रमा आफ्ना मातापिता, पत्नी, छोरा तथा परिवारका अन्य सदस्यलाई भेट गरेका थिए । बुद्धलाई ध्यान गर्न र बस्नका लागि उनका पिता राजा शुद्धोधनले कुदान क्षेत्रमा विहार निर्माण गरेका थिए । यसै स्थानमा बुद्धका छोरा राहुल र पत्नी मायादेवी भिक्षु तथा भिक्षुणीसमेत बनेका थिए । कुदानलाई राजा शुद्धोधनको न्यायालयका रुपमा समेत हेरिने गरेको बौद्ध धर्म ग्रन्थहरूमा उल्लेख छ। –INS

प्रतिक्रिया