आइतबार, जेठ ५, २०८२

दीपेन्द्रका बुवा भन्छन् : छोराका कीर्तिमानले देश खुसी भएको छ

नेपालखोज २०८० असोज ११ गते १८:१८

महेन्द्रनगर । बुधबार दिनभरीजसो नेपालका स्टार क्रिकेटर दीपेन्द्रसिंह ऐरी विश्व क्रिकेट जगतमै चर्चामा रहे ।

उन्नाइसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत चीनमा भएको मङ्गोलियाविरुद्धको खेलमा नौ बलमा अर्धशतक बनाएपछि दीपेन्द्रको चर्चा चुलियो । उनका नाममा अन्तर्राष्ट्रिय मिडियामा समाचारका शीर्षक बने । उनले टी–२० मा यसअघि भारतीय क्रिकेटर युवराज सिंहलगायतका खेलाडीले १२ बलमा प्रहार गरेको अर्धशतकको कीर्तिमान तोड्दै नयाँ नौ बलमै अर्धशतक बनाएर नयाँ कीर्तिमान कायम गरेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौर घर भएका उनी बाल्यकालदेखि नै खेलकुद क्षेत्रमा मेहनती र अब्बल रहेको उनका बुवा गगनसिंह ऐरीले सुनाए । बुधबार छोराले बनाएको कीर्तिमानमा ऐरीको परिवार मात्रै होइन गाउँनै खुसी रहेको उनी बताउछन् ।

‘घरको टिभीमा रिर्चाज सकिएकाले बिहान रिचार्ज गर्न सुकासाल चौराहा पुगे’, छोराको सफलताले हर्षित गगनसिंह भन्छन्, ‘चौराहाको कम्प्युटर पसल सञ्चालकले दीपेन्द्रको सफलता मोबाइलमै देखाउँदा खुसीको सीमा नै रहेन ।’

एसएलसीसम्म गाउँकै एक निजी विद्यालयमा अध्ययन गरेका उनी त्यो बेलामा पनि खेल जितेर पुरस्कार पाउने गरेको बुबा ऐरीले सम्झिए । ‘चार छोरामध्ये साइँलो हो, दीपेन्द्र’, उनले भने, ‘छोराले देशको नाम राख्दा हामी निकै खुसी भएका छौँ ।’

विद्यालयस्तरमा गाउँमा खेलकुदमा निकै मेहनत र सक्रिय भएर लाग्ने दीपेन्द्र उच्च माध्यमिक शिक्षा अध्ययनका लागि महेन्द्रनगरस्थित सनराइज बोर्डिङ स्कूल भर्ना भएका बेला करिब पाँच किलोमिटर हिँडेरै क्रिकेट प्रशिक्षणमा बजार पुग्दथे ।

‘स्वस्थ भइन्छ भन्दै हिँडेर महेन्द्रनगर पुगेर क्रिकेट प्रशिक्षणमा जुट्थ्यो’, उनले भने, ‘खेलप्रतिको लगाव र महेनतकै कारण आज उ सफलतातर्फ लम्किँदैछ । दीपेन्द्रको सफलताले अहिले स्थानीयले भेट्नासाथ आफूलाई बधाई दिने गरेका छन् ।’ सानोदेखि नै दीपेन्द्र राम्रो शिक्षा हासिल गरेर सरकारी जागिरमा होस् भन्ने आफूले चाहे पनि अहिलेको सफलताले परिवारमा निकै सन्तोष मिलेको उनी बताउछन् ।

करिब ४० वर्ष वन कार्यालयमा प्राविधिक खरिदारको जागिरे जीवन बिताएका गगनसिंह परिवारसहित २०३६ सालमा बैतडीबाट तिलाचौउर बसाइँ सरेका थिए । नेपाली क्रिकेटका परिचित नामहरु प्रदीप ऐरी र कमलसिंह ऐरी पनि दीपेन्द्रकै परिवारभित्र पर्छन् ।

प्रतिक्रिया