यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने

काठमाडाैं । नेपालमा यो वर्ष औसत समयभन्दा ढिलो मनसुन बाहिरिने भएको छ । मनसुन बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यो वर्ष केही ढिलो हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी तीन-चार दिनसम्म देशका धेरै स्थानमा बदली भई वर्षाको सम्भावना रहेकाले मनसुन ढिलो गरी बाहिरिने महाशाखाको जनाएकाे छ ।
महाशाखाले शुक्रबार साँझ विशेष बुलेटिन जारी गर्दै कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गर्दै यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।
विभागले भनेको छ- ‘नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ रहे पनि यस वर्षको मनसुन औसत मितिभन्दा केही दिन ढिलो बाहिरिने सम्भावना देखिन्छ र हाल बंगालको खाडीको उत्तर–पश्चिम भागमा विकास भैरहेको न्यूनचापीय क्षेत्र उत्तर–पश्चिम दिशातर्फ सर्ने सम्भावना देखिएकाले आगामी तीन/चार दिनसम्म देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।’
पहाडी भू–भागमा पहिरोको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह केही बढ्न सक्ने सम्भावना रहेको छ । विभागका अनुसार दैनिक जनजीवन तथा सडक, हवाई यातायातसमेत केही प्रभावित हुनसक्ने सम्भावना भएको छ ।
प्रतिक्रिया