शुक्रबार, जेठ ४, २०८१

किन पक्राउ परे हिरो अनमोल केसी ?

नेपालखोज २०८० असोज १३ गते ९:१७

काठमाडाैं । अभिनेता अनमोल केसीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक विश्वासघात गरेको आरोपमा उनलाई उपत्यका प्रहरी अपराध महाशाखाले शुक्रवार दिउँसो भक्तपुरबाट पक्राउ गरेको हो । एक करोड १५ लाखको आर्थिक विश्वासघात गरेको आरोपमा अदालतबाट अनुमति लिएर प्रहरीले पक्राउ गरिएको जानकारी आएको छ ।

फिल्म ‘रावायण’मा काम गर्ने वाचा गरेर अन्तिम समयमा धोका दिएको भन्दै निर्देशक तथा निर्माता सुदर्शन थापाको कम्पनी सुदर्शन थापा प्रोडक्सनको तर्फबाट सुप्रिया कटुवाल (चन्द्रकला कटुवाल)ले असोज ८ गते अनमोल विरुद्ध प्रहरीमा उजुरी दिएका थिए ।

त्यही उजुरीको प्रक्रियाका बारेमा छलफल गर्न प्रहरीले अनमोल केसीलाई धेरै पटक चौकीमा सम्पर्क गर्न अनुरोध गरेको थियो तर कलाकार अनमोल केसीले त्यसलाई बेवास्ता गरेकाे प्रहरी श्रोतले जनाएको छ । त्यसपछि अदालतबाट अनुमति लिएर कलाकार अनमोल केसीलाई पक्राउ गरेको हो । अहिले कलाकार अनमोल केसी मिनभवनको प्रहरी कार्यालयमा राखिएको छ ।

फिल्ममा काम गर्ने सर्तमा उनलाई निर्माण टिमले अग्रिम पारिश्रमिक स्वरूप १० लाख रुपैयाँ दिएको थियो । यसपछि अरू कलाकारसहित प्रि-प्रोडक्सनमा एक करोड १५ लाख खर्च भइसकेपछि अनमोलले काम गर्न अस्वीकार गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । प्रोडक्सनका एक श्रोतका अनुसार उजुरीपछि धेरै पटक छलफलका लागि बोलाउँदा समेत नआएपछि अदालतबाट अनमोल विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो

निर्देशक थापा असोज १३ गतेबाट छायाङ्कन सुरु गर्ने योजनामा थिए । तर, यसका लागि अनमोल तयार नभएपछि टिमभित्र विवाद सुरु भएको थियो। अन्ततः यो विवाद प्रहरीसम्म पुगेको हो ।

फिल्ममा नीति शाह, शिल्पा मास्के, निकिता चाण्डकलगायतका कलाकार समेत अनुबन्ध भैसकेका छन् । तर, अन्तिम समयमा अनमोलले काम नगर्ने अडान लिएपछि फिल्मको निर्माण नै अन्योल भयो र निर्मातालाई ठुलो आर्थिक घाटा हुने भए पछि विवाद अदालतमा पुगेको हो ।

यसअघि हिरो अनमोल केसीले फिल्म

‘रावायण’को स्क्रिप्ट आफूलाई चित्त नबुझेको बताएका थिए । निर्धारित समयभित्र यो चलचित्रको स्क्रिप्ट राम्रो नबनाएसम्म चलचित्र रावायणमा आफूले काम नगर्ने उनले बताएकाे जनाइएको थियो । यसअघि पनि अनमोलले स्क्रिप्टमा चित्त नबुझेको बताउँदै आधा दर्जन चलचित्र छाडिसकेको बताइन्छ ।

यो चलचित्रको कथा सुनेर अनमोल अनुबन्धित भएको तर त्यति बेला फिल्मको स्क्रिप्ट तयार भएको थिएन । तर, अहिले यो चलचित्रको स्क्रिप्ट आफूलाई मन नपरेको उनले बताएपछि विवाद सुरु भएको हो । आफ्नो एउटा फेसबुक स्ट्याटसमा अनमोलले स्क्रिप्ट चित्त नबुझेसम्म फिल्म नगर्ने र कुनै प्रकारको दबाब र हतारको प्रभावमा नपर्ने पनि उल्लेख गरेका छन् ।

यो चलचित्रमा अनमोललाई नायक र खलनायक गरी दोहोरी भूमिकामा उतार्ने तयारीमा निर्देशक सुदर्शन थापा थिए । तर, अहिले त्य स्क्रिप्ट अनमोललाई चित्त नबुझेको हो । तर, निर्देशक सुदर्शनले यो चलचित्रको स्क्रिप्ट राम्रो बनाउन आफूहरू लागिरहेको बताएका छन् । फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखिरहेको बुझिएको छ ।

श्रोत: आइएनएस स्वतन्त्र समाचार

प्रतिक्रिया