५०-६० वर्ष अगाडिसम्म थिएनन् नेपालमा वृद्धाश्रम

सुनिल उलक २०८० असोज १४ गते ११:०५

काठमाडाैं । ५०-६० वर्ष अगाडि सम्म नेपालमा वृद्धाश्रम खासै खुलेका थिएनन् । तर अचेल प्रत्येक सहरमा वृद्धाश्रम खुल्न थालेका छन् । हिजोको दिनमा आफ्नो वृद्ध बाबुआमा प्रति छोराछोरी कर्तव्यपरायण देखिन्थे । तर अचेलका व्यस्त छोराछोरीहरू वृद्ध भइसकेका बाबुआमालाई स्याहारसुसार गर्ने त परको कुरा आफूसंग राख्न पनि खोज्दैनन् ।

अझ बाबुआमा अलि बढी नै बिमार हुन्छन् भने त कतै नर्सको व्यवस्था वा सुविधा सम्पन्न वृद्धाश्रमको खोजीमा लाग्दछन् । हिजो बाजेबज्यैसंग नातिनातिनी निकै रमाउँथे । अचेल बाजेबज्यैसंग बस्नुपर्दा नातिनातिना दिक्क मान्छन् ।

उमेर ढल्केका बाबुआमा साना साना कुरामा पनि बोलिरहने वा किचकिच गरिरहने वा कतिपय कुरा बिर्सिहाल्ने हुँदै जान्छन् । तर यो बानी उमेर बढे सँगै हुने हुँदा सामान्य मान्न चाहन्नन् । उल्टै वृद्ध भइसकेका बाबुआमा बोझ मान्न थाल्दछन् ।

घरमा भएका भगवान् समानका बाबुआमा प्रति सेवा भाव गर्दैनन् तर बाहिर ठुला ठुला दाता बन्न अघि सर्दछन् । यहाँ मन्दिर बनाउन करोडौँ खर्च गर्न अगाडि सर्दछन् तर वृद्धहरूका लागि निःशुल्क औषधोपचारको लागि अस्पताल खोल्न चाहन्नन् ।

सडकमा भतारिन बाध्य बृद्धहरुलाई आश्रय स्थल बनाउनु भन्दा करोडौँको मन्दिर तर्फ केन्द्रित रहन्छन् । अचेल त झन् दाताहरूबाट उठ्ने रकमको दश प्रतिशत र बिस प्रतिशतमा मोलतोल गरेर आर्थिक सङ्कलन गरिदिने पण्डितहरूको सङ्ख्या पनि मनग्गे बढेको छ ।

सरकारले पनि ज्येष्ठ नागरिकका रूपमा ६० वर्ष उमेरको हदबन्दी तोकेको छ । यो पनि गलत छ । ज्येष्ठ नागरिकका लागि कम्तीमा ७५ वर्ष कटेका भन्ने हुनुपर्छ । ६० वर्षमा त युवा जोस नै हुने गर्दछ । खासै वृद्ध भइसकेको मानिँदैन । तर सरकारले ज्येष्ठ नागरिक भनेर भनिदिँदा आफैलाई वृद्ध भएको ठान्न सक्दछन् । जसले गर्दा झन् नकारात्मक प्रभाव बढ्न सक्दछ ।

ज्येष्ठ नागरिक ७५ वर्ष नाघेकालाई मात्र लिनु उचित हुन्छ । साथै ज्येष्ठ नागरिकहरूलाई राज्यले निःशुल्क स्वास्थ्योपचार र उचित मासिक वृद्ध भत्ता दिनुपर्दछ । अन्तमा आज ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण बुबाआमाहरुको सुस्वास्थ्यको कामना ।

प्रतिक्रिया