खुल्यो डिभी

नेपालखोज २०८० असोज १८ गते ९:१५

सन् २०२५ को डिभी कार्यक्रमका लागि बुधबार राति ९:४५ देखि आवेदन खुला भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । 

डिभी – २०२५ का लागि कात्तिक २१ गते राति १०:४५ बजेसम्म आवेदन दिन सकिनेछ । डिभी भर्न कुनै पनि शुल्क लाग्दैन । यसका लागि कुनै पनि कन्सल्टेन्ट आवश्यक नपर्ने जानकारि दिदै दूतावासले तिनको सहयोग नलिन भनेको छ ।

आवेदनसम्बन्धी सहयोग चाहिए परिवारका सदस्य, साथी वा अन्य विश्‍वासिला व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला। सहयोग जसले उपलब्ध गराएपनि आफ्नो आवेदनका लागि तपाईं स्वयम् जिम्मेवार हुनुहुनेछ – दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 

कार्यक्रमका लागि दर्ता गर्ने अवधिमा https://dvprogram.state.gov/  मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्ने हुन्छ।

दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्न अनिवार्य रहेको र यदी समावेश नगरी विवरणहरू पेश गरे आवेदन अमान्य  ठहरिने पनि दूतावासले जनाएको छ। 

कुनै पनि व्यक्तिले हालसालै खिचेको तस्बिर र एउटा मात्रै आवेदन बुझाउनुपर्ने हुन्छ। अघिल्लो वर्षको डिभीमा प्रयोग गरिएको फोटो पनि अयोग्य ठहरिने विज्ञप्तिमा उल्लेख छ।

फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। कृपया ध्यान दिनुहोला: फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन – दूतावासले भनेको छ।

यसअघि अमेरिकाको विदेश मन्त्रालयले आवेदकहरूलाई डिभी आवेदन भर्दा राहदानी भएको जानकारी दिनुपर्थ्यो तर अहिले राहदानी हुनु अनिवार्य नभएको दूतावासले जनाएको छ। 

दूतावासले आवेदन भरिसकेपछि उपलब्ध गराउने कन्फर्मेशन नम्बरलाई सेभ वा प्रिन्ट गरी राख्न पनि अनुरोध गरेको छ। 

२०८१ वैशाख २२ गते त्यही कन्फर्मेशन नम्बर राखेर डिभी परे/नपरेको जानकारी पाइनेछ। 

छनोटमा परेपनि भिसा पाउने/नपाउने भन्ने कुरा अन्तर्वार्तामार्फत मात्र थाहा हुने पनि दूतावासले जनाएको छ। 

डिभीका लागि छानिँदैमा भिसा पाइन्छ भन्ने हुँदैन। तपाईंले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईंसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि तपाईं योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् ।

अन्तर्वार्ताका लागि जाँदा आफूसँग लानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ – विज्ञप्तिमा अमेरिकी दुताबासले भनेको छ।

प्रतिक्रिया