पितृपक्षमा दान

नेपालखोज २०८० असोज १९ गते ६:१५

यो वर्षको पितृपक्ष असोज १३ गते शनिवारदेखि प्रारम्भ भएर असोज २७ गते शनिवारसम्म रहने छ । ग्रहका राजा सूर्य जब कन्या राशिमा पुग्छन्, तब महालय पक्षमा पितृलाई अत्यधिक भोक लाग्छ । यसका साथै धर्मराजको निर्देशनमा पितृहरु पृथ्वीमा आफ्नो घरमा आउँछन् ।

पितृपक्षको क्रममा नुहाउँदा पितृलाई सम्झनुपर्छ । तर्पणमा कुश र कालो तिलको विशेष महत्व हुन्छ । पितृपक्षमा केवल एक छाक मात्र सात्विक भोजन ग्रहण गर्नुपर्छ । जसमा प्याज, लहसुन, माछा मासु खानु हुँदैन । शुद्ध खाना खानुपर्छ । सँधै दक्षिण दिशा तिर मुख पारेर पितृलाई तर्पण र पिण्डदान गर्नुपर्छ । ऋण लिएर अथवा दवावमा कहिले पनि श्राद्ध गर्नु हुँदैन ।

आफ्ना सन्तानद्वारा दान दिइएको श्राद्ध तर्पण आदि ग्रहण गर्दै आशीर्वाद दिएपछि पितृहरु औँशीको दिन फिर्ता जान्छन् ।धार्मिक मान्यता के छ भने पितृ पक्षमा दान गर्नाले पितृ दोष समाप्त हुन्छ र जीवनमा भैरहेका समस्याहरु आफैँ समाप्त हुन्छन् । पितृपक्षमा दान गर्ने विधि र के कुरा दान गर्नु महादान समान हुन्छ भन्ने बारेमा केहि जानकारी ।

चाँदी

पितृ पक्षको क्रममा चाँदीका वस्तु दान गर्नु सबैभन्दा राम्रो मानिन्छ । चाँदी दान गर्नाले पितृको आत्मालाई शान्ति प्राप्त हुन्छ । यसको साथै पितृको आशीर्वाद सदैव रहिरन्छ ।

कालो तिल

श्राद्धको क्रममा कालो तिल दान गर्नुपर्छ । पितृपक्षमा यदि कुनै कुरा दान गर्ने सामथ्र्य भएन भने कालो तिल दान गर्नुपर्छ ।

शख्खर

शख्खर दान गर्नाले पितृलाई विशेष सन्तुष्टि प्राप्त हुन्छ । यसले पितृको आत्मालाई शान्ति प्राप्त हुन्छ । साथै घरमा सुख, शान्ति कायम रहिरन्छ । भनिन्छ, सोह्र श्राद्धमा शख्खर दान गर्नाले घरको क्लेशसमेत हटेर जान्छ ।

अन्न

पितृपक्षमा अन्न दानलाई महादान मानिएको छ । भनिन्छ, यसबाट पितृहरुलाई तृप्ति मिल्छ । त्यसैले पितृ पक्षमा अन्न दान गर्न चाहनु हुन्छ भने गहुँ तथा चामल दान सर्वश्रेष्ठ हुन्छ ।

नून

भनिन्छ, जसको नुन खान्छौ, उप्रति सदैभ ऋणी रहनु । त्यसैले जहाँ गए पनि नूनको ऋण कहिले पनि बिर्सनु हुँदैन । नून दान नगरी पितृपक्ष कहिले पनि सम्पन्न भएको मानिँदैन ।

जुत्ता र चप्पल

भनिन्छ, जुत्ता–चप्पल दान गर्नाले भविष्यमा आउनसक्ने विपत्तिबाट बच्न सकिन्छ । चीनाको दोष पनि निवारण हुन्छ । यसो गर्नाले घरमा खुशीयाली आउँछ र सुख शान्ति प्राप्त हुन्छ ।

गाईको घीउ

हामी गाईलाई आमाको स्वरुप मान्छौँ । गाई पूजाले स्वतः नै समस्त वाधा अन्त्य हुन्छ । पितृपक्षमा गाईको घीउ दान गर्नु पनि फलदायी हुन्छ ।

प्रतिक्रिया