शुक्रबार, पुष ४, २०८२

युक्रेनमा सैनिकको अन्त्येष्टिमा रुसी हमला हुँदा ५१ जनाको मृत्यु

नेपालखोज २०८० असोज १९ गते १०:५८

काठमाडाैं । रुसले बुधबार राति पूर्वी युक्रेनको खार्किभ इलाकाको ह्रोजा गाउँमा हमला गर्दा ५१ जनाको मृत्यु भएको छ। हमलामा परी ७ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक जना ६ वर्षीय बालक पनि हुनुहुन्छ ।

रुसले हमला गर्दा युक्रेनी सैनिकको अन्त्येष्टि चलिरहेको बिबिसीले उल्लेख गरेको छ। युक्रेनी रक्षामन्त्रीका अनुसार रुसले नागरिकमाथि हमला गरेको छ। उहाँका अनुसार जहाँ हमला भयो, त्यहाँ कुनै सैनिक थिएनन्। केवल साधारण मानिस मात्रै थिए। हमलामा परी ह्रोजा गाउँको २० प्रतिशत जनसंख्या घटेको बताइएको छ।

युद्धअगाडि उक्त गाउँको जनसंख्या ५०० थियो। युद्ध सुरु भएदेखि हालसम्म २५५ जना बाँकी थिए। त्यसमा पनि बुधबार भएको हमलामा परी ५१ जनाले ज्यान गुमाएका छन्।

समाचार संस्था इन्टरफ्याक्सका अनुसार जुन सैनिकको दाहसंस्कार (अन्त्येष्टि) चलिरहेको थियो उही सैनिकको परिवारले पनि हमलामा ज्यान गुमाएको छ। हमलापछि युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले यो हालैका महिनामा भएको सबभन्दा घातक हमला भएको बताउनुभएको छ। तर यसको जवाफ आफूहरुले दिने पनि राष्ट्रपति जेलेन्स्कीको भनाइ छ।

समर्थन जुटाउन स्पेनमा ५० युरोपेली नेताहरुको शिखर सम्मेलनमा भाग लिँदै गर्दा यो हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

रुसले युक्रेनविरुद्ध युद्ध सुरु गर्दा ह्रोजा र पूर्वी खार्किभका अन्य हिस्सामा कब्जा गरेको थियो। सेप्टेम्बर, २०२२ मा युक्रेनले ती इलाकामाथि पुनः कब्जा जमायो। ह्रोजा गाउँ कुपियान्स्कबाट ३० किलोमिटर पश्चिममा पर्छ।

हमलामा इस्कन्दर ब्यालेस्टिक मिसाइल प्रयोग

युक्रेनी सेनाले हमलामा इस्कन्दर ब्यालेस्टिक मिसाइल प्रयोग भएको बताएका छन्। २००६ मा रुसले इस्कन्दर ब्यालेस्टिक मिसाइल लन्च (सार्वजनिक) गरेको थियो। यसलाई छोटो दूरी (सर्ट रेन्ज) का लागि प्रयोग गरिन्छ। साथै, ठूला भवन र सैन्य अखाडालाई ध्वस्त पार्न प्रयोग गरिने हतियारसमेत इस्कन्दर ब्यालेस्टिकले बोक्छ । – INS

प्रतिक्रिया