भूकम्प प्रभावितलाई घर निर्माणका लागि ५० हजार उपलब्ध गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

चैनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माणका लागि प्रतिपरिवार रु ५० हजार उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मङ्गलबारको भूकम्पबाट प्रभावित क्षेत्रको अवलोकनका लागि आज बझाङको सदरमुकाम चैनपुर पुग्नुभएका उहाँले पीडित परिवारको आवश्यकतालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
उनले सदस्य सङ्ख्याका आधारमा प्रभावित परिवारलाई रु १५ देखि २० हजार उपलब्ध गराउने जानकारी दिए । प्रधानमन्त्री दाहालले भने, ‘राहतमा पाल, कम्मल, औषधिलगायत तत्काल अत्यावश्यक सामग्री उपलब्ध गराउन सरकार क्रियाशील छ ।’ भूकम्प पीडितलाई तत्काल राहत तथा अस्थायी टहरा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने, ‘सङ्घीय, प्रदेश र स्थानीय सरकार सबै प्रभावित जनताको साथमा छ, सरकार जनतासँगै छ ।’
प्रधानमन्त्री दाहालले भूकम्पबाट भएको क्षतिको तथ्याङ्क सङ्कलन गरी क्षति पुगेका संरचनाको प्रबलीकरण वा पुनःनिर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए । भूकम्पमा परी घाइते भएकाको निःशुल्क उपचार भइरहेको जानकारी दिँदै उनले भूकम्पपछि आएको पहिरोमा परी ज्यान गुमाएकी जयपृथ्वी नगरपालिका–११ स्थित ओखलकी ४० वर्षीया गुनमति धाँमीका परिवारलाई तत्काल दुई लाख राहत दिने बताए ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट क्षति मूल्याङ्कनका आधारमा कार्यविधि बनाई भूकम्प प्रतिरोधी घर निर्माण गर्न सहयोग गर्ने उनले बताए ।
प्रतिक्रिया