वर्षाले धानबालीमा क्षति

भरतपुर । केही दिनदेखि परेको वर्षाले चितवनका विभिन्न क्षेत्रमा लगाएको धानबालीमा क्षति पुर्याएको छ । पूर्वी चितवन र भरतपुरका केही स्थानमा किसानले काटेर खेतमा सुकाएका धान थन्क्याउन पाएका छैनन् ।
धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए । उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको धान काट्न सुरु हुन्छ ।
केही भागमा पाकेर काट्न तयार परेको धानसमेत पानीले ढलाएको उनले बताए । यतिखेर सिँचाइको सुविधा रहेको पूर्वी चितवनमा धान काट्ने समय भएको छ । पूर्वी चितनका अधिकांश किसानले असार १५ मा धान रोपेर सक्ने गर्दछन् ।
निरन्तरको वर्षाले खेतमा भित्र्याउन काटेर सुकाएको धान डुबाएको भरतपुर महानगरपालिका–१६ स्थित शरणपुरका सुनिल दवाडीले बताए । खेत रोप्न २५ हजार लागेको उनले बताए । लगातार परेको पानीमा डुबेर धान उम्रिएको छ ।
शरणपुरकै मधुमाया खनाल लामिछानेले पनि पाँच कठ्ठामा धान रोपेकी थिईन् । केही दिनदेखिको पानीले सबै काटेर भित्र्याउन ठिक्क पारेको धान डुबाएको उनले बताईन् ।

प्रतिक्रिया