टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती

नेपालखोज २०८० असोज २४ गते ७:३२

किमाथांका । संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा टेलिफोन सेवा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–५ माङ्सिमाको भाटभटेनीडाँडामा रहेको नेपाल टेलिकमको टावर समस्या देखिएपछि सञ्चार सेवा अवरुद्ध भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए ।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथांकाबाहेक सबै वडामा सम्पर्कविच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाँडाको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्‍याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको छ ।

टेलिफोन सेवा अवरुद्ध भएपछि भोटखोलाको हटिया, च्याम्ताङ, चेपुवा, लिङ्गम, छुम्सुर, रिदाकका स्थानीय सञ्चार सेवाबाट बञ्चित भएका छन् । अवरुद्ध टेलिफोन सेवा चाँडै सञ्चालन गरिने दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेम राईले बताए । उनले टेलिफोन सेवा मर्मतका लागि मंगलबार प्राविधिक टोली भाटभटेनी प्रस्थान गरिसकेको जानकारी दिए । सञ्चार सेवा अवरुद्ध हुँदा गाउँबाट टाढा रहेका आफन्तसँग सम्पर्क हुन नसकेको स्थानीयले गुनासो गरे । 

प्रतिक्रिया