अग्रिम टिकट बुकिङका लागि बसपार्कमा भीड

नेपालखोज २०८० असोज २४ गते १२:५४

काठमाडौं । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ ।

सरकारले विजयादशमी, शुभदीपावली तथा छठ पर्वमा घर जाने यात्रुलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो । यतिबेला सङ्घीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीलगायतका विभिन्न उद्देश्यले आएकाहरु घरजानका लागि टिकट काट्न नयाँबसपार्कमा जम्मा भएका छन् ।

नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिका प्रवक्ता पङ्कज मल्लले दुई दिनमा झण्डै ४० हजार अग्रिम टिकट बुकिङ भइसकेको जानकारी दिए । उनका अनुसार असोज २२ गते २४ हजार तीन सय ४० र असोज २३ गते १५ हजार २५ टिकट बुकिङ भइसकेको छ ।

असोज २२ गते बुकिङ भएका टिकटमध्ये कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार दुई सय ३०, गण्डकी प्रदेशका लागि नौ सय ७५, लुम्बिनी प्रदेशका लागि १३ हजार पाँच सय ३५, कर्णाली प्रदेशका लागि एक हजार सात सय र सुदूरपश्चिम प्रदेशका लागि छ हजार नौ सय टिकट बुकिङ भएको छ ।

यस्तै, असोज २३ गते कोसी, मधेस र बागमती प्रदेशका लागि एक हजार एक सय ७०, गण्डकी प्रदेश पाँच सय, लुम्बिनी प्रदेश सात हजार पाँच सय ३५, कर्णाली प्रदेशमा एक हजार छ सय २० र सुदूरपश्चिम प्रदेशमा चार हजार दुई सय टिकट बुकिङ भएको छ ।

सरकारले लामो तथा मध्यम दूरीका सार्वजनिक सवारी साधनको टिकट खुला गरेको हो । पश्चिम नेपालको दार्चुला, डँडेलधुरा, धनगढी, टीकापुर, बझाङ, बाजुरा, सल्यान, रुकुम, प्यूठान, दाङ, अर्घाखाँची, रोल्पा तथा पूर्वी नेपालको ताप्लेजुङ, इलाम, काँकडभित्ता, उदयपुरलगायतका ठाउँमा जाने यात्रुको भीडभाड लागेको छ ।

लामो समयदेखि काठमाडौंदेखि धनगढीसम्म डिलक्स बस चलाउँदै आएका वर्दियाका रामानन्द थारु बाटोको कारणले बसलाई ओहोरदोहोर गर्न समस्या भएको बताउछन् ।

असोज २३ गते यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले यही असोज २६ गतेदेखि कात्तिक ८ गतेसम्म खाद्यान्न लगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी साधनहरु उपत्यका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

उक्त बैठकले पूर्व–पश्चिम राष्ट्रिय राजमार्ग अन्तर्गत कावासोती, चोरमारा, दाउन्ने सडक खण्ड र पोखरा–मुग्लिन सडक खण्ड अन्तर्गत कोत्रेबाट २१ किमि काठमाडौंतर्फको सडक सवारी साधन सञ्चालन गर्न सहज हुने हिसावले सडक विभागबाट तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया